कमजोर कारोबारबीच नेप्से सातामा ३.८९ अंकले बढ्यो

काठमाडौँ। पछिल्ला सातामा दबाबमा रहेको सेयर बजारले यस साता झिनो सुधार गरेको छ। नेपाल स्टक एक्सचेञ्जको नेप्से परिसूचक अघिल्लो साताको अन्तिम कारोबार दिन २६४९.५१ बिन्दुमा रहेकोमा शुक्रबार २६५३.४० बिन्दुमा पुगेको हो। यसअनुसार साप्ताहिक रूपमा नेप्से ३.८९ अंक अर्थात करिब ०.१५ प्रतिशतले बढेको छ।
वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकार गठनपछि बजारमा देखिएको उतारचढाव र लगानीकर्ताको सतर्कताबीच यस साताको कारोबार पनि तुलनात्मक रूपमा कमजोर रह्यो। साताका पाँच कारोबार दिनमध्ये सोमबार, मंगलबार र शुक्रबार नेप्से घट्यो भने बुधबार र बिहीबार बढ्यो।
सोमबार नेप्से १६.५४ अंक घटेर २६३२.९६ बिन्दुमा झरेको थियो। त्यस दिन २ अर्ब ६७ करोड १८ लाख ३२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भयो। मंगलबार परिसूचक थप २४.६३ अंक घटेर २६०८.३३ बिन्दुमा पुगेको थियो भने कारोबार रकम ३ अर्ब २५ करोड ८७ लाख ५८ हजार रुपैयाँ रह्यो।
लगातार सात कारोबार दिनको गिरावटपछि बुधबार बजारमा उल्लेख्य सुधार देखियो। त्यस दिन नेप्से ४४.५९ अंक बढेर २६५२.९३ बिन्दुमा पुग्दा ३ अर्ब ८६ करोड ११ लाख ८३ हजार रुपैयाँको कारोबार भयो। बिहीबार पनि नेप्से ८.७८ अंक बढेर २६६१.७१ बिन्दुमा पुगेको थियो। त्यस दिन ४ अर्ब ११ करोड ७७ लाख ८५ हजार रुपैयाँ बराबरको सेयर किनबेच भयो।
साताको अन्तिम कारोबार दिन शुक्रबार भने नेप्से ८.३० अंक घटेर २६५३.४० बिन्दुमा बन्द भयो। शुक्रबार ४ अर्ब ४१ करोड २३ लाख ४० हजार रुपैयाँ बराबरको ८५ लाख ८४ हजार कित्ता सेयर कारोबार भएको थियो।
पाँच कारोबार दिनमा कुल १८ अर्ब ३२ करोड १८ लाख ९८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। बजारमा बुधबार र बिहीबार सुधार देखिए पनि साताको समग्र वृद्धिदर न्यून रहेकाले लगानीकर्ताको विश्वास पूर्ण रूपमा फर्किनसकेको सङ्केत देखिएको छ।
अघिल्लो साताको अन्त्यमा नेप्सेको कुल बजार पुँजीकरण ४५ खर्ब ३४ अर्ब ६९ करोड २९ लाख २० हजार रुपैयाँ रहेकोमा शुक्रबारको कारोबारपछि ४५ खर्ब ५९ अर्ब ९ करोड ४८ लाख ६० हजार रुपैयाँ पुगेको छ। यसअनुसार एक सातामा बजार पुँजीकरण २४ अर्ब ४० करोड १९ लाख ४० हजार रुपैयाँले बढेको हो। शुक्रबारको कारोबारपछि कुल बजार पुँजीकरण ४५ खर्ब ५९ अर्ब रुपैयाँभन्दा माथि पुगेको बजार विवरणले देखाएको छ।
साप्ताहिक रूपमा परिसूचक सकारात्मक रहे पनि कारोबार रकम, बजारको अस्थिरता र दैनिक सूचकको उतारचढावले लगानीकर्ता अझै प्रतीक्षाको अवस्थामा रहेको देखाउँछ।





