१९ असार २०८३, शुक्रबार

सरकारले सुशासन र नागरिक सेवामा राम्रो सुरुवात गरेको छ : लामिछाने

काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले सुशासन र नागरिक सेवा प्रवाहलाई प्राथमिकतामा राखेर राम्रो सुरुवात गरेको बताएका छन्।

शुक्रबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले सरकारले प्रारम्भिक एक सय दिनमा नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने विषयलाई प्राथमिकतामा राखेर काम गरेको बताए।

उनले भने, “सरकारले यो सय दिनमा नागरिकसँग सम्बन्धित विषयहरूमा बढी जोड लगायो। सरकारले यो सय दिनमा विशेष गरी सुशासनमा अझ बढी समय लगाएको छ। लगाउनुपर्ने पनि छ। सुशासनका मुद्दामा अझ बढी ध्यान गयो। विकास निर्माण र दूरगामी विषयहरूमा आज गरिएको कामको प्रभाव अझ पछाडि देखिँदै आउँछ।”

लामिछानेले विकास निर्माण तथा दीर्घकालीन पूर्वाधार आयोजनाका क्षेत्रमा सरकारले दुईदेखि तीन वर्षको योजना बनाएर काम गरिरहेको उल्लेख गरे। त्यस्ता योजनाको नतिजा तत्काल अपेक्षा गर्न कठिन हुने भए पनि छोटो अवधिमा देखिने केही क्षेत्रमा उपलब्धिमूलक काम भएको उनको दाबी छ।

उनले नागरिक सेवा प्रवाहलाई चुस्त, प्रभावकारी र कम झन्झटिलो बनाउने प्रक्रिया सुरु भइसकेको भन्दै त्यसको सकारात्मक प्रभाव क्रमशः देखिँदै जाने विश्वास व्यक्त गरे।

उनले भने, “भौतिक पूर्वाधारको क्षेत्रमा भन्नुहुन्छ भने हामीले दुई–तीन वर्षलाई प्याकेज बनाएर काम गरेका छौँ। त्यसको नतिजा दुई–तीन वर्षभन्दा अगाडि अपेक्षा गर्न केही गाह्रो हुनसक्ला। यद्यपि, तत्काल देखिने नतिजाहरूमा समेत काम भएकै छ। सुशासन अहिले सरकारको प्राथमिकता भएको हुनाले सुशासनका क्षेत्रमा र नागरिकलाई सेवा दिने विषयमा सेवालाई कम झन्झटिलो बनाउने क्रमको सुरुवात भएको छ। यो राम्रो बिगनिङजस्तो मलाई लागेको छ।”

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button