१९ असार २०८३, शुक्रबार

बाल्टिक राष्ट्रसँग रक्षा औद्योगिक सहकार्य विस्तार गर्ने जर्मनीको घोषणा

बर्लिन । जर्मन चान्सलर फ्रेडरिक मर्जले लाटभिया, इस्टोनिया र लिथुआनियासँग रक्षा उद्योगसम्बन्धी सहकार्य थप विस्तार गर्ने घोषणा गरेका छन्।

बर्लिनमा शुक्रबार तीन बाल्टिक राष्ट्रका नेतासँग भएको बैठकपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा मर्जले बाल्टिक क्षेत्रको सुरक्षा जर्मनी र समग्र युरोपको सुरक्षासँग प्रत्यक्ष रूपमा जोडिएको बताए।

उनले युरोपेली देशहरूले आफ्नो सुरक्षा जिम्मेवारी बढाउँदै नेटोलाई थप युरोपेली स्वरूप दिनुपर्ने धारणा राखे। युरोपको रक्षा क्षमता बलियो भए मात्र नेटोको ट्रान्सएटलान्टिक स्वरूप दीर्घकालीन रूपमा कायम रहन सक्ने उनको भनाइ थियो।

मर्जले भने, “हामी नेटोलाई थप युरोपेली बनाउन चाहन्छौँ, ताकि यो ट्रान्सएटलान्टिक गठबन्धनका रूपमा कायम रहन सकोस्।”

उनका अनुसार युरोपेली देशहरूले सुरक्षा चुनौतीको सामना गर्न रक्षा बजेट, सैन्य क्षमता र रक्षा औद्योगिक उत्पादनमा उल्लेख्य लगानी गरिरहेका छन्। उनले जर्मनी र बाल्टिक राष्ट्रबीच रक्षा सामग्री उत्पादन, प्रविधि, आपूर्ति श्रृंखला तथा सैन्य क्षमताको विकासमा सहकार्य विस्तार गरिने बताए।

चान्सलर मर्जले लाटभिया, इस्टोनिया र लिथुआनियाले कुल गार्हस्थ्य उत्पादनको कम्तीमा ३.५ प्रतिशत मुख्य रक्षा खर्चमा लगाउने नेटोको लक्ष्य यसअघि नै पार गरिसकेको उल्लेख गरे।

उनले जर्मनीले पनि सन् २०२९ सम्ममा मुख्य रक्षा खर्च कुल गार्हस्थ्य उत्पादनको ३.५ प्रतिशत पुर्‍याउने योजना बनाएको जानकारी दिए।

सन् २०२५ मा नेदरल्यान्ड्सको द हेगमा सम्पन्न नेटो शिखर सम्मेलनमा सदस्य राष्ट्रहरूले सन् २०३५ सम्ममा कुल गार्हस्थ्य उत्पादनको पाँच प्रतिशत रक्षा तथा सुरक्षासम्बन्धी क्षेत्रमा खर्च गर्ने प्रतिबद्धता जनाएका थिए। त्यसअन्तर्गत कम्तीमा ३.५ प्रतिशत मुख्य सैन्य आवश्यकता र बाँकी १.५ प्रतिशत सुरक्षा पूर्वाधार, नागरिक तयारी, प्रतिरोध क्षमता तथा रक्षा उद्योगमा लगानी गर्ने व्यवस्था गरिएको छ।

मर्जले बाल्टिक राष्ट्रहरूको सुरक्षाले नेटोको पूर्वी क्षेत्रको स्थिरता मात्र नभई जर्मनी र सम्पूर्ण युरोपको सुरक्षा वातावरणमा प्रभाव पार्ने बताए।

बैठकमा जर्मनी र तीन बाल्टिक राष्ट्रबीच रक्षा औद्योगिक उत्पादन, नेटोभित्र युरोपेली जिम्मेवारी वृद्धि, सैन्य क्षमता विस्तार तथा क्षेत्रीय सुरक्षा सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button