साइबर ठगी र मानव तस्करीविरुद्ध थाइल्यान्डको ‘शील्ड’ मञ्च सञ्चालनमा

बैंकक । सीमापार साइबर ठगी, मानव तस्करी र पीडितलाई जबरजस्ती आपराधिक गतिविधिमा संलग्न गराउने सञ्जालविरुद्ध कारबाही प्रभावकारी बनाउने उद्देश्यले थाइल्यान्डले नयाँ अन्तर्राष्ट्रिय सूचना आदानप्रदान मञ्च सञ्चालनमा ल्याएको छ।
साइबर ठगी तथा बाध्यकारी आपराधिक गतिविधिविरुद्धको अन्तर्राष्ट्रिय परिचालन संवाद शुक्रबार सम्पन्न भएसँगै थाइल्यान्डले विकास गरेको ‘स्क्याम एन्ड ह्युमन ट्राफिकिङ इन्फर्मेसन एक्सचेन्ज एन्ड लिङ्क्ड डाटाबेस’ अर्थात ‘शील्ड’ औपचारिक रूपमा प्रयोगमा ल्याइएको हो।
शील्डलाई सहभागी देशका प्रहरी तथा सम्बन्धित निकायबीच साइबर ठगी र मानव तस्करीसम्बन्धी सूचना सुरक्षित, व्यवस्थित र छिटो आदानप्रदान गर्ने केन्द्रीय वेब प्रणालीका रूपमा विकास गरिएको छ।
थाइल्यान्डको शाही प्रहरीका उपमहानिरीक्षक तथा मानव तस्करीविरुद्धको केन्द्रका निर्देशक टाट्चाई पिटानिलाबुटले विभिन्न देशका अधिकारीबीच सूचना आदानप्रदानमा हुने ढिलाइका कारण अनुसन्धान, पक्राउ र पीडितको उद्धार प्रक्रिया प्रभावित हुने गरेको बताए।
उनले भने, “यी चुनौती समाधान गर्न थाई सरकारले सहभागी देशलाई सुरक्षित र प्रभावकारी रूपमा तथ्याङ्क आदानप्रदान गर्न सक्षम बनाउने केन्द्रीय वेब एप्लिकेसन विकास गरेको छ।”
शील्ड प्रणालीले सीमापार सञ्चार विवरण, बैंकिङ कारोबारसम्बन्धी अभिलेख र व्यक्तिको आवागमनसम्बन्धी तथ्याङ्कलाई एकीकृत रूपमा विश्लेषण गर्न सहयोग गर्नेछ। यसबाट अन्तर्राष्ट्रिय ठगी गिरोहका सदस्य, आर्थिक कारोबार, सम्पर्क सञ्जाल र गतिविधिको मार्ग पहिचान गर्न अधिकारीलाई सहज हुने अपेक्षा गरिएको छ।
प्रणालीले विभिन्न देशमा छरिएका डिजिटल प्रमाण र वित्तीय कारोबारसम्बन्धी विवरणलाई आपसमा जोडेर आपराधिक सञ्जालको संरचना पहिचान गर्न, सम्भावित पीडितको अवस्था पत्ता लगाउन तथा दोषीमाथि कानुनी कारबाही अघि बढाउन सहयोग गर्ने बताइएको छ।
टाट्चाईले अन्तर्राष्ट्रिय साझेदारीको प्रभावकारिता वास्तविक समयमा प्राप्त हुने र तत्काल प्रयोग गर्न सकिने गुप्तचर सूचनामा निर्भर रहने बताए।
उनले भने, “यस लडाइँमा समयमै गरिने कारबाही सबैभन्दा महत्वपूर्ण हुन्छ। हामीले जोगाएको प्रत्येक मिनेटले एउटा जीवनको सुरक्षा गर्न सक्छ।”
अनलाइन ठगी केन्द्रमा आकर्षक रोजगारीको प्रलोभन देखाएर विभिन्न देशका नागरिकलाई पुर्याउने र उनीहरूलाई धम्की, नियन्त्रण वा दबाबमा राखेर साइबर ठगीमा संलग्न गराउने घटना बढेसँगै मानव तस्करी र साइबर अपराधलाई एकीकृत रूपमा सम्बोधन गर्नुपर्ने आवश्यकता देखिएको छ।
थाइल्यान्डका सामाजिक विकास तथा मानव सुरक्षा मन्त्री निकोर्न सोमक्लाङले अन्तर्राष्ट्रिय साझेदारसँग मिलेर साइबर ठगी र मानव तस्करीविरुद्ध काम गर्न थाइल्यान्ड तयार रहेको बताए।
उनले साझा प्रतिबद्धतालाई बलियो कानुनी संरचना, निकट अन्तर्राष्ट्रिय सहकार्य, प्रभावकारी कानुन कार्यान्वयन र पीडितको सार्थक संरक्षणमार्फत ठोस कारबाहीमा रूपान्तरण गर्नुपर्नेमा जोड दिए।
थाई अधिकारीहरूका अनुसार शील्डले अनुसन्धान निकाय, अध्यागमन, बैंक तथा वित्तीय संस्था र मानव तस्करीविरुद्ध काम गर्ने निकायबीच समन्वय बढाउँदै सीमापार आपराधिक सञ्जालविरुद्ध संयुक्त कारबाहीलाई तीव्र बनाउन सहयोग गर्नेछ।
अन्तर्राष्ट्रिय परिचालन संवादमा सहभागी देश र अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिले सूचना आदानप्रदान, संयुक्त अनुसन्धान, वित्तीय कारोबारको निगरानी, पीडितको पहिचान तथा उद्धार र अन्तरदेशीय कानुनी सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरेका थिए।





