अख्तियारमा खटिएका डीआईजी खनालसहित अधिकांश उच्च प्रहरी अधिकृतको सरुवा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा खटिएका प्रहरी नायब महानिरीक्षक शेखर खनालसहित अधिकांश उच्च प्रहरी अधिकृतको सरुवा भएको छ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको निर्देशनपछि अख्तियारमा कार्यरत उच्च प्रहरी अधिकृतहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृतले जानकारी दिए।
डीआईजी खनाललाई प्रहरी प्रधान कार्यालय, नक्सालस्थित कार्य विभागमा सरुवा गरिएको छ। उनको स्थानमा कार्य विभागमा कार्यरत डीआईजी अरुण पौडेललाई अख्तियारमा पठाइएको छ।
गृहमन्त्री सुधन गुरुङको शुक्रबारको निर्णयअनुसार डीआईजी तहको सरुवा गरिएको हो।
यसअघि अख्तियारमा कार्यरत दुई प्रहरी उपरीक्षक, छ प्रहरी नायब उपरीक्षक र नौ प्रहरी निरीक्षकको पनि सरुवा गरिएको थियो।
सरुवा हुने प्रहरी नायब उपरीक्षकमा उमेश लम्साल, मदनजित महरा र गौतम थापालगायत रहेका छन्। उनीहरू अख्तियारको प्रहरी महाशाखाअन्तर्गत खटिँदै आएका थिए।





