कर्णाली नदीमा खसेको मिनी बस दुई दिनसम्म भेटिएन, एक जनाको शव फेला

सुर्खेत । सुर्खेतबाट कालीकोटको रास्कोटतर्फ जाँदै गरेको मिनी बस दैलेखमा कर्णाली राजमार्गबाट कर्णाली नदीमा खसेको दुई दिन बितिसक्दा पनि फेला पर्न सकेको छैन।
कर्णाली प्रदेश–०२–००१ ख १०५५ नम्बरको बुलबुले यातायात प्रालिको मिनी बस बिहीबार राति करिब साढे ११ बजे दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ सांगेतडास्थित कर्णाली राजमार्गबाट नदीमा खसेको थियो।
दुर्घटनाग्रस्त गाडी र त्यसमा सवार यात्रुको खोजीका लागि जिल्ला प्रहरी कार्यालयसहित आसपासका प्रहरी इकाईबाट करिब एक सय प्रहरी परिचालन गरिएको छ। सशस्त्र प्रहरी बलका छ जना गोताखोर पनि खोजी तथा उद्धारमा खटिएका छन्। तर शुक्रबार साँझ अबेरसम्म गाडी फेला पर्न सकेको छैन।
कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार दुर्घटनास्थलको कठिन भूगोल, नदीको उच्च बहाव, धमिलो पानी र गाडी खसेको स्थान गहिरो खोचमा रहेकाले खोजी जटिल बनेको हो।
कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी जयराज सापकोटाले गाडी खसेको स्थान चारदेखि पाँच सय मिटर अग्लो भीरमा रहेको बताए। उनका अनुसार गाडी भीरबाट खस्ने क्रममा पटकपटक पल्टिँदै र रुख भाँच्दै नदीमा पुगेको देखिएको छ।
“त्यहाँबाट नदीसम्म पुग्न डोरीको सहारा लिनुपर्ने अवस्था छ। अन्य स्थानभन्दा बढी गहिराइ भएको खोचमा गाडी खसेकाले भेटाउन कठिन भएको छ। त्यसमाथि धमिलो पानी र नदीको तीव्र प्रवाहले खोजी थप जटिल बनाएको छ,” उनले भने।
गाडी बिहीबार बिहान ८ बजे सुर्खेत बसपार्कबाट पाँच यात्रु लिएर हिँडेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। बीच बाटोबाट थप यात्रु चढेको हुन सक्ने प्रहरीको अनुमान छ। तर मार्गमा रहेका प्रहरी चौकीमा गाडीको अभिलेख नभएकाले दुर्घटनाका बेला कति यात्रु सवार थिए भन्ने यकिन हुन सकेको छैन।
प्रहरीले दुर्घटनास्थलभन्दा करिब पाँच किलोमिटर तलसम्म खोजी टोली परिचालन गरेको छ। गाडी नदीमा बगेको हुन सक्ने आशंकामा सम्भावित स्थानमा ड्रोन क्यामेराबाट समेत खोजी भइरहेको छ।
दुर्घटनास्थलको भीरमा अड्किएको अवस्थामा प्रहरीले एक व्यक्तिको शव फेला पारेको थियो। मृतक कालीकोटको पचालझरना गाउँपालिका–९ का ५४ वर्षीय जोखे तिरुवा रहेको प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी बलको महेश्वरी बाहिनीबाट खटिएको छ सदस्यीय गोताखोर टोलीले नदीमुनि खोजी गरे पनि गाडी फेला पार्न सकेको छैन।
सशस्त्र प्रहरी बलका डीआईजी कृष्णराज पाठकले पानी अत्यन्त धमिलो र बहाव उच्च भएकाले खोजीमा कठिनाइ भएको बताए।
“गाडी सबैतिरको पानी घुम्ने ठाउँमा खसेको देखिन्छ। गहिराइ बढी र चौडाइ कम भएको स्थान भएकाले उद्धारमा समस्या भएको छ,” उनले भने।
गाडी बगेको आशंकामा गोताखोर टोली दुर्घटनास्थलभन्दा पाँचदेखि छ किलोमिटर तलसम्म पुगेको छ। थप खोजी तथा उद्धारका लागि कुरिनटारबाट सशस्त्र प्रहरीका थप गोताखोर बोलाइएको छ। उक्त टोली शनिबार बिहानदेखि परिचालन हुने जनाइएको छ।





