२० असार २०८३, शनिबार

वैशाखयता विपदका घटनामा १२७ जनाको मृत्यु, ७७३ घाइते


ड्रागन मिडिया समाचार कक्ष

चालु वर्ष सुरु भएयता वैशाख १ देखि असार १९ गतेसम्म देशभर भएका विपदजन्य घटनामा १२७ जनाको मृत्यु भएको छ भने ७७३ जना घाइते भएका छन्।

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको विपद बुलेटिनअनुसार उक्त अवधिमा देशभर दुई हजार ७२१ वटा विपदजन्य घटना भएका छन्। ती घटनाबाट तीन हजार ७२२ परिवार प्रभावित भएका छन्।

प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार सबैभन्दा बढी मानवीय क्षति सर्पदंशबाट भएको छ। सर्पदंशका ३९८ घटनामा २३ जनाको मृत्यु भएको छ भने ३७५ जना घाइते भएका छन्।

लेक लागेका ५४ घटनामा २१ जनाको मृत्यु हुनुका साथै ३४ जना घाइते भएका छन्। चट्याङका २०५ घटनामा १९ जनाको मृत्यु भएको छ भने ९८ जना घाइते भएका छन्।

घटनाको सङ्ख्याका आधारमा सबैभन्दा धेरै आगलागीका घटना भएका छन्। आगलागीका ८३० घटनामा १७ जनाको मृत्यु भएको छ भने १०० जना घाइते भएका छन्।

जनावरको आक्रमणका १४७ घटनामा १४ जनाको मृत्यु र ८२ जना घाइते भएका छन्। हावाहुरीका ४७४ घटनामा १३ जनाले ज्यान गुमाएका छन् भने ६७ जना घाइते भएका छन्।

यस अवधिमा बाढी, पहिरो, भारी वर्षा, डुङ्गा दुर्घटना, वन डढेलो र हिमपहिरोलगायतका घटनाबाट समेत मानवीय क्षति भएको प्राधिकरणले जनाएको छ।

पछिल्लो २४ घण्टामा मात्र देशका २७ जिल्लामा ३१ वटा विपदका घटना भएका छन्। ती घटनामा एक जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button