२० असार २०८३, शनिबार

बैंकिङ प्रणालीमा तरलता कायम गर्न चीनले एक ट्रिलियन युआन परिचालन गर्ने

ड्रागन मिडिया समाचार कक्ष

चीनको केन्द्रीय बैंक पिपुल्स बैंक अफ चाइनाले बैंकिङ प्रणालीमा पर्याप्त तरलता कायम गर्न एक ट्रिलियन युआन बराबरको आउटराइट रिभर्स रिपो सञ्चालन गर्ने घोषणा गरेको छ।

केन्द्रीय बैंकले शुक्रबार सार्वजनिक गरेको सूचनाअनुसार करिब एक खर्ब ४६ अर्ब ९६ करोड अमेरिकी डलर बराबरको उक्त मौद्रिक परिचालन जुलाई ६ मा गरिनेछ।

तीन महिना अर्थात ९१ दिन अवधिको यो कारोबार अक्टोबर ५ मा परिपक्व हुनेछ।

पिपुल्स बैंक अफ चाइनाका अनुसार परिचालनको कुल रकम पहिले नै निश्चित गरिएको छ। ब्याजदर प्रतिस्पर्धात्मक बोलकबोलबाट निर्धारण गरिनेछ भने विभिन्न मूल्य तहमा सफल प्रस्ताव छनोट गरिनेछ।

आउटराइट रिभर्स रिपोअन्तर्गत केन्द्रीय बैंकले वित्तीय संस्थाबाट निश्चित अवधिका लागि धितोपत्र खरिद गरेर बजारमा तरलता उपलब्ध गराउँछ। परम्परागत रिभर्स रिपोको तुलनामा यसको कारोबार संरचना र धितोपत्र व्यवस्थापन थप लचिलो मानिन्छ।

चीनको केन्द्रीय बैंकले राष्ट्रिय बैंकिङ प्रणालीको मध्यम अवधिको तरलता व्यवस्थापन गर्न सन् २०२४ अक्टोबरमा यो उपकरण प्रयोगमा ल्याएको थियो।

एक वर्षभन्दा कम अवधिका आउटराइट रिभर्स रिपो कारोबार प्रत्येक महिना सञ्चालन गर्न सकिने व्यवस्था छ। यसले बैंक तथा वित्तीय संस्थालाई आवश्यक नगद उपलब्ध गराउनुका साथै मुद्रा बजारमा स्थिरता कायम गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ।

आउटराइट रिभर्स रिपोको प्रयोगसँगै चीनको मौद्रिक नीति कार्यान्वयनका साधन थप विविध बनेका छन्। यसले अस्थायी रिपो, अस्थायी रिभर्स रिपो तथा सरकारी ऋणपत्रको खरिद र बिक्रीजस्ता यसअघि प्रयोग हुँदै आएका तरलता व्यवस्थापन उपकरणलाई पूरक सहयोग पुर्‍याउनेछ।

केन्द्रीय बैंकको पछिल्लो कदमले बैंकिङ प्रणालीमा पर्याप्त वित्तीय स्रोत कायम राख्दै वास्तविक अर्थतन्त्रमा कर्जा प्रवाह र समग्र आर्थिक गतिविधिलाई सहयोग गर्ने नीतिगत उद्देश्य प्रतिबिम्बित गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button