कङ्गोमा इबोलाका पुष्टि भएका संक्रमित १,५०२ पुगे, ४७३ जनाको मृत्यु

ड्रागन मिडिया समाचार कक्ष
प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोलाका पुष्टि भएका संक्रमितको सङ्ख्या एक हजार ५०२ पुगेको छ भने ४७३ जनाको मृत्यु भएको छ। विश्व स्वास्थ्य सङ्गठनले बुन्डिबुग्यो प्रजातिको भाइरसबाट फैलिएको प्रकोप अझै गम्भीर अवस्थामा रहेको जनाएको छ।
कङ्गोका स्वास्थ्य अधिकारीहरूले शुक्रबार सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार हाल ६२८ जना संक्रमितलाई आइसोलेसन वा अस्पतालमा राखेर उपचार भइरहेको छ। अहिलेसम्म २१३ जना निको भएका छन्।
विश्व स्वास्थ्य सङ्गठनका अफ्रिका क्षेत्रीय निर्देशक मोहम्मद याकुब जानाबीले पूर्वी कङ्गोका इटुरी र उत्तरी किभु प्रान्तमा संक्रमण निरन्तर फैलिरहेको बताए। दक्षिणी किभुमा पनि संक्रमित फेला परेका छन्।
जानाबीका अनुसार यो हालसम्म अभिलेख गरिएको बुन्डिबुग्यो भाइरसबाट फैलिएको सबैभन्दा ठूलो इबोला प्रकोप हो। विश्व स्वास्थ्य सङ्गठनले कङ्गोमा संक्रमण फैलिने जोखिम अझै अत्यन्त उच्च रहेको मूल्याङ्कन गरेको छ।
विश्व स्वास्थ्य सङ्गठनले जुलाई १ सम्मको तथ्याङ्कमा कङ्गोमा एक हजार ४६० संक्रमित र ४५२ जनाको मृत्यु भएको जनाएको थियो। त्यसको दुई दिनपछि कङ्गोका अधिकारीहरूले सार्वजनिक गरेको अद्यावधिक विवरणमा संक्रमितको सङ्ख्या एक हजार ५०२ र मृतकको सङ्ख्या ४७३ पुगेको देखिएको हो।
विश्व स्वास्थ्य सङ्गठनका कङ्गोस्थित विज्ञ पियरे अकिलिमालीले संक्रमण फैलिएका केही क्षेत्र सशस्त्र द्वन्द्व र असुरक्षाबाट प्रभावित भएकाले संक्रमित पहिचान, सम्पर्कमा आएका व्यक्तिको खोजी र उपचारमा कठिनाइ भइरहेको बताए।
इटुरीका केही प्रभावित क्षेत्र खानी गतिविधिका केन्द्रसमेत हुन्। ती क्षेत्रमा कामदार र बाहिरबाट आउने मानिसको निरन्तर आवतजावतका कारण भाइरस अन्य समुदाय तथा क्षेत्रमा फैलिने जोखिम बढेको अधिकारीहरूले बताएका छन्।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार प्रकोपबाट प्रभावित क्षेत्रमा स्वास्थ्य संस्थासम्मको सीमित पहुँच, विस्थापित जनसङ्ख्या, स्वास्थ्यकर्मीमाथिको सुरक्षा जोखिम र समुदायमा फैलिएका गलत सूचनाले नियन्त्रण प्रयासलाई थप जटिल बनाएका छन्।
बुन्डिबुग्यो भाइरसका लागि हालसम्म स्वीकृत खोप वा प्रमाणित विशिष्ट उपचार उपलब्ध छैन। संक्रमितलाई शीघ्र पहिचान गरी आइसोलेसनमा राख्ने, शरीरमा पानीको कमी हुन नदिने, आवश्यक सहायक उपचार उपलब्ध गराउने, सम्पर्कमा आएका व्यक्तिको निगरानी गर्ने र सुरक्षित अन्त्येष्टि सुनिश्चित गर्ने उपायलाई संक्रमण नियन्त्रणको मुख्य आधार मानिएको छ।
सम्भावित उपचारको प्रभावकारिता परीक्षण गर्न कङ्गोमा ‘पार्टनर्स’ नामक क्लिनिकल परीक्षण सुरु गरिएको छ। परीक्षणमा एमबीपी–१३४ नामक मोनोक्लोनल एन्टिबडी र रेम्डेसिभिर औषधि अलगअलग तथा संयुक्त रूपमा प्रयोग गर्दा संक्रमितको जीवनरक्षा गर्न सकिन्छ कि सकिँदैन भन्ने अध्ययन गरिनेछ।
विश्व स्वास्थ्य सङ्गठनको प्रायोजनमा सुरु भएको परीक्षण कङ्गोको राष्ट्रिय जैविक चिकित्सा अनुसन्धान संस्थान, बेल्जियमको इन्स्टिच्युट अफ ट्रपिकल मेडिसिन र बेलायतको अक्सफोर्ड विश्वविद्यालयसहितका संस्थाको सहकार्यमा सञ्चालन भइरहेको छ।
विश्व स्वास्थ्य सङ्गठनले प्रकोप नियन्त्रणका लागि शीघ्र परीक्षण, संक्रमितको सुरक्षित उपचार, स्वास्थ्य संस्थामा संक्रमण रोकथाम, सीमापार समन्वय, सम्पर्कमा आएका व्यक्तिको निगरानी र समुदायको विश्वास कायम गर्नु अत्यावश्यक रहेको जनाएको छ।





