तनहुँ जलविद्युत आयोजनाको भौतिक प्रगति ७५.५ प्रतिशत

ड्रागन मिडिया समाचार कक्ष
नेपाल विद्युत प्राधिकरणको पूर्ण स्वामित्वमा रहेको तनहुँ हाइड्रोपावर लिमिटेडले प्रवर्द्धन गरिरहेको १४० मेगावाट क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत आयोजनाको समग्र भौतिक निर्माण प्रगति ७५.५ प्रतिशत पुगेको छ।
तनहुँको सेती नदीमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना नेपाल सरकार, नेपाल विद्युत प्राधिकरण, एसियाली विकास बैंक, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग र युरोपेली लगानी बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण भइरहेको हो।
आयोजनाअन्तर्गत बाँध तथा हेडवर्क्स निर्माणसम्बन्धी प्याकेज १ को प्रगति ५९ प्रतिशत पुगेको छ। सोङदा–कालिका संयुक्त उपक्रमले यस प्याकेजअन्तर्गत मुख्य बाँध र सम्बन्धित संरचना निर्माण गरिरहेको छ।
सेती नदीलाई डाइभर्सन सुरुङमार्फत पथान्तरण गरेपछि २०८१ चैत ७ गतेदेखि १४० मिटर अग्लो मुख्य बाँधको कंक्रिटिङ सुरु गरिएको थियो। हाल बाँधको दायाँ र बायाँ किनारमा ग्राउटिङ ग्यालरी सुरुङ निर्माण, ड्रिलिङ, ग्राउटिङ तथा कंक्रिटिङको काम तीव्र गतिमा भइरहेको आयोजनाले जनाएको छ।
प्याकेज २ अन्तर्गत जलमार्ग, भूमिगत विद्युतगृह तथा सम्बन्धित उपकरण जडानको काम भइरहेको छ। चीनको सिनो हाइड्रो कर्पोरेसनले निर्माण गरिरहेको यस प्याकेजको प्रगति करिब ७७ प्रतिशत पुगेको छ।
विद्युतगृह र अन्य भूमिगत संरचनाका लागि आवश्यक अधिकांश उत्खनन तथा सिभिल निर्माण सम्पन्न भएको छ। आयोजनाले जलप्रवाह सुरुङ, पेनस्टक, सर्ज ट्याङ्क, विद्युतगृह र इलेक्ट्रोमेकानिकल उपकरणसम्बन्धी बाँकी कामलाई समानान्तर रूपमा अघि बढाएको छ।
प्याकेज ३ अन्तर्गत दमौलीदेखि भरतपुरसम्म निर्माण भइरहेको २२० किलोभोल्ट क्षमताको प्रसारण लाइनको प्रगति पनि करिब ७७ प्रतिशत पुगेको छ। भारतीय कम्पनी केइसी इन्टरनेसनलले निर्माण गरिरहेको करिब ३३ किलोमिटर लामो प्रसारण लाइनमा ९४ वटा टावर रहनेछन्। तीमध्ये अधिकांश टावरको जग निर्माण तथा टावर खडा गर्ने काम सम्पन्न भइसकेको छ।
आयोजनाबाट उत्पादित विद्युत यही प्रसारण लाइनमार्फत चितवनको भरतपुरस्थित राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ।
जलाशययुक्त आयोजना भएकाले तनहुँ जलविद्युतले वर्षायाममा पानी सञ्चित गरी हिउँदमा विद्युत उत्पादन गर्न सक्नेछ। यसले सुक्खायाममा हुने विद्युत अभाव घटाउन, विद्युत आपूर्तिको गुणस्तर सुधार गर्न र नेपालको ऊर्जा प्रणालीलाई थप सन्तुलित बनाउन महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
आयोजनाको जडित क्षमता १४० मेगावाट रहेको छ भने सञ्चालनको प्रारम्भिक वर्षहरूमा वार्षिक औसत ५८७.७ गिगावाट घण्टा विद्युत उत्पादन हुने अनुमान गरिएको छ।
मुख्य बाँध, जलमार्ग, विद्युतगृह र प्रसारण लाइनको निर्माण एकसाथ अघि बढाइए पनि बाँध तथा हेडवर्क्स प्याकेजको प्रगति अन्य प्याकेजको तुलनामा कम छ। आयोजनाले बाँकी कामको गति बढाउँदै निर्माण समयभित्र सम्पन्न गर्न ठेकेदार कम्पनी र परामर्शदातासँग समन्वय गरिरहेको जनाएको छ।





