अमेरिकी स्वतन्त्रताको २५० वर्षमा लावरोभद्वारा समानतामा आधारित संवादको आह्वान

ड्रागन मिडिया समाचार कक्ष
रुसका विदेशमन्त्री सेर्गेई लावरोभले संयुक्त राज्य अमेरिकाको स्वतन्त्रताको २५०औँ वार्षिकोत्सवका अवसरमा अमेरिकी जनतालाई सम्बोधन गर्दै रुस र अमेरिकाबीच समानता, पारस्परिक सम्मान तथा एकअर्काको आन्तरिक मामिलामा अहस्तक्षेपमा आधारित स्पष्ट संवाद अघि बढाउन आग्रह गरेका छन्।
जुलाई ४ मा जारी शुभेच्छा सन्देशमा लावरोभले यो वार्षिकोत्सव विश्व व्यवस्था महत्वपूर्ण रूपान्तरणबाट गुज्रिरहेको समयमा परेको उल्लेख गरे।
पश्चिमी देशहरूको तीव्र प्रतिरोधका बाबजुद विश्वव्यापी प्रभुत्वको युगलाई प्रतिस्थापन गर्दै अधिक न्यायपूर्ण र सन्तुलित बहुध्रुवीय अन्तर्राष्ट्रिय विकासको मोडेल स्थापित हुँदै गएको उनको भनाइ छ।
लावरोभले दुई सय ५० वर्षमा अमेरिकाले अन्य कतिपय राष्ट्रलाई सयौँ वर्ष लागेको विकास र राज्य निर्माणको यात्रा तीव्र गतिमा पूरा गरेको बताए। उनका अनुसार अमेरिकी इतिहास गहिरो सिर्जनात्मक ऊर्जा, विस्तार र आन्तरिक उथलपुथलका विभिन्न चरणबाट निर्माण भएको छ।
उनले अमेरिकी स्वतन्त्रता संग्राम र गृहयुद्धजस्ता निर्णायक समयमा रुसले अमेरिकी राज्यको स्थापना तथा संरक्षणमा निरन्तर समर्थन गरेको उल्लेख गरे।
दोस्रो विश्वयुद्धमा रुस र अमेरिका एउटै गठबन्धनमा रहेर लडेको इतिहासलाई स्मरण गर्दै लावरोभले फासीवाद, नाजीवाद र राष्ट्रिय विशिष्टताको विचारधाराविरुद्ध साझा प्रतिरोधको त्यो अनुभव आज पनि महत्वपूर्ण रहेको बताए।
उनले रुस संयुक्त राज्य अमेरिका र दोस्रो विश्वयुद्धका अन्य विजयी शक्तिसँग मिलेर निर्माण गरिएको युद्धपछिको अन्तर्राष्ट्रिय व्यवस्थाको आधार संयुक्त राष्ट्रसंघको बडापत्रप्रति प्रतिबद्ध रहेको स्पष्ट पारे।
संयुक्त राष्ट्रसंघको बडापत्र आज पनि मानवताका लागि कानुनी तथा नैतिक मार्गदर्शक रहेको बताउँदै लावरोभले अन्तर्राष्ट्रिय सम्बन्धमा त्यसका सिद्धान्त समान रूपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिए।
रुस र अमेरिकाले आधारभूत राष्ट्रिय हितलाई पारस्परिक रूपमा ध्यान दिँदै निष्कपट संवाद अघि बढाउन सके जटिल विश्वव्यापी तथा क्षेत्रीय समस्याको प्रभावकारी समाधान पहिचान गर्न सक्ने विश्वास उनले व्यक्त गरे।
लावरोभका अनुसार दुवै देशबीचको सम्बन्धमा ठोस उपलब्धि हासिल गर्न समानता, पारस्परिक सम्मान, अहस्तक्षेप र वैध राष्ट्रिय हितको स्वीकारोक्ति अनिवार्य आधार हुनुपर्छ।
उनले अमेरिकी जनतालाई शान्ति र समृद्धिको कामना गर्दै स्वतन्त्रताको घोषणापत्रमा समावेश प्रत्येक व्यक्तिको जीवन, स्वतन्त्रता र सुखको खोजी गर्ने अधिकार पूर्ण रूपमा कार्यान्वयन हुने आशा व्यक्त गरे।





