२० असार २०८३, शनिबार

कोरला सडकका पाँच पुल तत्काल ठेक्कामा लैजान मन्त्री लम्सालको निर्देशन

ड्रागन मिडिया समाचार कक्ष

गण्डकी प्रदेशका पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत निर्माण गर्नुपर्ने पाँच वटा पुलको काम तत्काल ठेक्का प्रक्रियामा लैजान सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

आयोजनाको स्थलगत अनुगमन तथा निरीक्षणका लागि मुस्ताङ पुगेका मन्त्री लम्सालले जोमसोम–कोरला सडकखण्डमा आवश्यक पूर्वाधार निर्माणसम्बन्धी छलफलका क्रममा यस्तो निर्देशन दिएका हुन्।

मन्त्री लम्साल शुक्रबार बेनी–जोमसोम सडकमार्ग हुँदै मुस्ताङको थासाङ गाउँपालिका–३ लेते पुगेका थिए। निरीक्षण टोलीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेल, सम्बन्धित मन्त्रालय तथा विभिन्न विभागका प्रतिनिधि सहभागी छन्।

बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख तेजस्वी शर्माका अनुसार टोलीले आयोजनाको भौतिक प्रगति, पर्यटन प्रवर्द्धनका सम्भावना तथा आवश्यक पूर्वाधारको अवस्थाबारे जानकारी लिन स्थलगत निरीक्षण गरेको हो।

निरीक्षणका क्रममा पूर्वप्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनको उपस्थितिमा जोमसोम–कोरला सडकखण्डमा निर्माण गर्नुपर्ने पुल तथा अन्य पूर्वाधारका विषयमा छलफल भएको थियो।

आयोजना प्रमुख शर्माले जोमसोम–कागबेनी सडकखण्डको थप स्तरोन्नति र कागबेनी–छुसाङ खण्डमा भइरहेको कालोपत्र निर्माणको प्रगतिबारे मन्त्री लम्साललाई जानकारी गराएका थिए।

सरकारले कोरला सडकअन्तर्गत मुस्ताङको छुसाङदेखि घमीसम्मको करिब ५० किलोमिटर सडक स्तरोन्नति तथा कालोपत्रका लागि तीन अर्ब १५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

कोरला नाकासम्मको सडक स्तरोन्नतिसम्बन्धी प्रारम्भिक वातावरणीय परीक्षण सम्पन्न भइसकेकाले निर्माण तथा कालोपत्रको काम शीघ्र अघि बढाउनुपर्ने आवश्यकता टोलीसमक्ष औँल्याइएको थियो।

मन्त्री लम्सालसहितको टोलीले आयोजना क्षेत्रका विभिन्न स्थानमा पुगेर सडक, पुल तथा अन्य पूर्वाधारको अवस्थाबारे प्रत्यक्ष जानकारी लिएको छ।

स्थानीय बासिन्दाले कालीगण्डकी नदीको कटान, बाढी र पहिरोका कारण कोरला सडक, पुल तथा अन्य संरचनामा प्रत्येक वर्ष क्षति पुग्ने जोखिम रहेको भन्दै दीर्घकालीन संरक्षणका उपाय अपनाउन आग्रह गरेका छन्।

बेनी–जोमसोम–कोरला सडकले गण्डकी प्रदेशलाई चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोड्ने भएकाले यसलाई व्यापार, पर्यटन, स्थानीय आर्थिक गतिविधि तथा राष्ट्रिय रणनीतिक सम्पर्कका दृष्टिले महत्वपूर्ण मानिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button