२० असार २०८३, शनिबार

कांग्रेस शीर्ष नेताबीच भेटवार्ता तीव्र, आन्तरिक रणनीतिमा केन्द्रित छलफल

ड्रागन मिडिया समाचार कक्ष

नेपाली कांग्रेसभित्र पछिल्लो समय शीर्ष तथा प्रभावशाली नेताबीच आन्तरिक राजनीतिक भेटघाट र छलफल तीव्र बनेको छ।

बिहीबारदेखि शनिबारसम्म विभिन्न स्थानमा भएका छुट्टाछुट्टै भेटवार्तामा समसामयिक राजनीतिक अवस्था, पार्टीको संगठनात्मक गतिविधि र आगामी रणनीतिबारे छलफल भएको बताइएको छ।

बिहीबार नेता पूर्णबहादुर खड्का र डा. शेखर कोइरालाबीच गल्फुटारमा भेटवार्ता भएको थियो। सोही दिन खड्का र डा. शशांक कोइरालाबीच महाराजगञ्जमा छुट्टै छलफल भएको थियो।

त्यसै दिन नेता विमलेन्द्र निधि, प्रकाशमान सिंह र डा. शशांक कोइरालाबीच बानेश्वर हाइटमा संयुक्त भेटवार्ता भएको थियो।

शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवा निकट शीर्ष नेताहरू गल्फुटारमा भेला भएका थिए। उक्त छलफलमा पार्टीको पछिल्लो आन्तरिक अवस्था, सरकारसँगको सम्बन्ध, संगठन सञ्चालन र भावी राजनीतिक कार्यदिशाका विषयमा विचार आदानप्रदान भएको बताइएको छ।

शनिबार पनि भेटवार्ताको क्रम जारी रह्यो। नेता विमलेन्द्र निधि र डा. शेखर कोइरालाबीच बानेश्वर हाइटमा छलफल भएको हो।

पछिल्ला तीन दिनमा निरन्तर भएका यी भेटघाटलाई कांग्रेसभित्र विकसित राजनीतिक समीकरण, नेतृत्व तहको आन्तरिक समन्वय, संगठनात्मक गतिविधि तथा आगामी रणनीतिसँग जोडेर हेरिएको छ।

यद्यपि, कुनै पनि भेटवार्तामा भएका छलफलका विस्तृत एजेन्डा तथा निष्कर्ष औपचारिक रूपमा सार्वजनिक गरिएको छैन।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button