२० असार २०८३, शनिबार

बाढीपहिरोले अवरुद्ध राजमार्ग तत्काल सञ्चालनमा ल्याउन राष्ट्रिय सभा सदस्यको माग

ड्रागन मिडिया समाचार कक्ष

राष्ट्रिय सभाका सदस्यहरूले मनसुनका कारण बाढीपहिरोबाट अवरुद्ध भएका राजमार्ग तथा सडक यथाशीघ्र सञ्चालनमा ल्याउन सरकारसँग माग गरेका छन्।

राष्ट्रिय सभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसदहरूले मुलुकका विभिन्न भागमा सडक अवरुद्ध हुँदा यातायात, स्वास्थ्य सेवा, दैनिक आवागमन र स्थानीय जनजीवन प्रभावित भएको भन्दै तत्काल मर्मतसम्भार गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।

सांसद गोमादेवी तिमिल्सिनाले वर्षायाममा नागरिक जोखिमपूर्ण यात्रा गर्न बाध्य भइरहेको उल्लेख गर्दै प्रमुख राजमार्गमा देखिएका अवरोध तत्काल हटाउन आग्रह गरिन्।

उनले मुग्लिन, नारायणगढ र काठमाडौँ जोड्ने सडकखण्डका साथै डोटी र बैतडी क्षेत्रमा भइरहेका सडक दुर्घटनाप्रति सरकार गम्भीर बन्नुपर्ने बताइन्।

वर्षायाममा पहिरो, सडक भासिने समस्या र कमजोर संरचनाका कारण यात्रु जोखिममा पर्ने गरेको भन्दै उनले सडक सुरक्षाका लागि नियमित अनुगमन, तत्काल उद्धार संयन्त्र र दीर्घकालीन पूर्वाधार सुधार आवश्यक रहेको धारणा राखिन्।

सांसद दुर्गा गुरुङले मनसुन सुरु भएसँगै कर्णाली प्रदेशका विभिन्न जिल्लामा बाढीपहिरोका कारण सडक अवरुद्ध हुँदा बिरामीलाई अस्पताल पुर्‍याउनसमेत कठिनाइ भइरहेको बताइन्।

उनले दुर्गम क्षेत्रमा सडक अवरुद्ध हुँदा उपचार, खाद्यान्न ढुवानी, विद्यालय सञ्चालन र स्थानीय व्यापारमा प्रत्यक्ष असर पर्ने गरेको उल्लेख गरिन्।

बर्सेनि दोहोरिने सडक अवरोधलाई अस्थायी रूपमा पहिरो हटाएर मात्र समाधान गर्न नसकिने भन्दै गुरुङले जोखिमयुक्त स्थानको पहिचान, पर्खाल निर्माण, पानी निकासको उचित व्यवस्था र वैकल्पिक सडकको विकास गर्न सरकारसँग आग्रह गरिन्।

सांसद नरबहादुर विष्टले सुर्खेत–कालीकोट रुटमा सञ्चालन भइरहेको सार्वजनिक यातायात दैलेख क्षेत्रमा हराएको घटनाको तत्काल छानबिन गर्न माग गरे।

उनले घटनाको वास्तविक अवस्था, सवारीसाधन र यात्रुको विवरण तथा खोजी कार्यबारे सत्यतथ्य सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराए।

सांसदहरूले मनसुनजन्य विपदका कारण अवरुद्ध सडक तत्काल खुलाउन संघीय, प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी समन्वय हुनुपर्नेमा जोड दिएका छन्।

उनीहरूले जोखिमयुक्त राजमार्गमा उपकरण, प्राविधिक जनशक्ति र उद्धार टोली तयारी अवस्थामा राख्न तथा यात्रुलाई सडकको अवस्थाबारे नियमित र विश्वसनीय सूचना उपलब्ध गराउन पनि आग्रह गरेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button