एम्बाप्पेको निर्णायक गोलमा फ्रान्स विश्वकप क्वार्टरफाइनलमा

ड्रागन मिडिया समाचार कक्ष
उपाधिको बलियो दाबेदार फ्रान्स पाराग्वेलाई १–० गोल अन्तरले पराजित गर्दै फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
संयुक्त राज्य अमेरिकाको फिलाडेल्फिया रङ्गशालामा शनिबार सम्पन्न प्रतिस्पर्धात्मक अन्तिम १६ खेलमा कप्तान किलियन एम्बाप्पेले पेनाल्टीमार्फत गरेको गोल फ्रान्सको जितका लागि निर्णायक बन्यो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा फ्रान्सले बलमाथि नियन्त्रण कायम राख्दै निरन्तर आक्रमण गरे पनि पाराग्वेको अनुशासित रक्षापंक्ति तोड्न कठिन भएको थियो।
खेलको ७०औँ मिनेटमा डिएगो गोमेजले डिजिरे डुएलाई पेनाल्टी क्षेत्रमा लडाएपछि भिडियो सहायक रेफ्रीको समीक्षाबाट फ्रान्सले पेनाल्टी पाएको थियो। एम्बाप्पेले उक्त अवसरलाई सहजै गोलमा परिणत गर्दै टोलीलाई १–० को अग्रता दिलाए।
यो एम्बाप्पेको विश्वकपमा १९औँ तथा जारी प्रतियोगितामा सातौँ गोल हो।
यसअघिका खेलमा प्रभावशाली आक्रामक प्रदर्शन गरेको फ्रान्सलाई पाराग्वेले शारीरिक, रक्षात्मक र अनुशासित रणनीतिमार्फत कडा चुनौती दिएको थियो। पाराग्वेले फ्रान्सका आक्रामक खेलाडीलाई लामो समयसम्म गोल गर्नबाट रोके पनि पेनाल्टी गोलपछि खेलमा फर्कन सकेन।
फ्रान्सले खेल अवधिभर ७६ प्रतिशत बल आफ्नो नियन्त्रणमा राख्दै विपक्षी पोस्टतर्फ १५ पटक प्रहार गरेको थियो। फ्रान्सले ५५२ पास पूरा गर्दा पाराग्वेले १७५ पास मात्र पूरा गर्न सक्यो। पाराग्वेले खेलभर पाँचपटक गोलको प्रयास गरेको थियो।
पाराग्वेका गोलरक्षक ओर्लान्डो गिलले दोस्रो हाफमा एम्बाप्पे र मानु कोनेका खतरनाक प्रहार रोक्दै टोलीलाई खेलमा कायम राखेका थिए। तर पाराग्वेको अग्रपंक्तिले फ्रान्सेली रक्षामाथि निर्णायक दबाब सिर्जना गर्न सकेन।
फ्रान्सले समूह चरणदेखि अहिलेसम्मका सबै पाँच खेल जित्दै १४ गोल गरेको छ भने दुई गोल मात्र बेहोरेको छ।
लगातार चौथोपटक विश्वकपको क्वार्टरफाइनलमा पुगेको फ्रान्सले अब सेमिफाइनल प्रवेशका लागि मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ।
मोरक्कोले अर्को अन्तिम १६ खेलमा सहआयोजक क्यानडालाई ३–० ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको थियो।
फ्रान्स र मोरक्कोबीचको क्वार्टरफाइनल सन २०२२ को विश्वकप सेमिफाइनलको पुनरावृत्ति हुनेछ। उक्त खेलमा फ्रान्सले मोरक्कोलाई पराजित गरेको थियो।





