बाढीपहिरोले कर्णालीका दुई प्रमुख राजमार्ग पूर्ण रूपमा अवरुद्ध

ड्रागन मिडिया समाचार कक्ष
अविरल वर्षासँगै देशका विभिन्न क्षेत्रमा बाढी तथा पहिरोका घटना बढ्दै जाँदा कर्णाली प्रदेशसँग जोडिएका दुई प्रमुख राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार असार १७ गतेको वर्षाका कारण रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–६ स्थित रिजेगार्ड खोलामा पहिरो खसेपछि जाजरकोट र डोल्पा जोड्ने भेरी करिडोर अवरुद्ध भएको हो।
त्यसैगरी, असार २० गते रोल्पाको परिवर्तन गाउँपालिका–१ स्थित खोलावाङ क्षेत्रमा पहिरो खसेपछि घोराही–रुकुम सहिदमार्ग पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ।
दुवै सडक अवरुद्ध हुँदा यात्रु, सार्वजनिक यातायात, मालवाहक सवारीसाधन र स्थानीय बासिन्दाको आवागमन प्रभावित भएको छ।
प्रवक्ता काफ्लेले निरन्तर वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्ग प्रभावित भइरहेको उल्लेख गर्दै अवरुद्ध सडक सञ्चालनमा ल्याउन सम्बन्धित निकायबाट प्रयास भइरहेको जानकारी दिए।
नेपाल प्रहरीले पूर्ण रूपमा अवरुद्ध भएका सडक सञ्चालनमा नआएसम्म ती मार्गबाट यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
आंशिक रूपमा सञ्चालनमा रहेका सडकमा पहिरो, ढुङ्गा खस्ने, सडक भासिने र नदीको बहाव बढ्न सक्ने जोखिम रहेकाले अत्यधिक सावधानी अपनाएर मात्र यात्रा गर्न पनि अनुरोध गरिएको छ।
प्रहरीले वर्षायाममा आवश्यक सतर्कता अपनाउन तथा यात्रामा निस्कनुअघि सम्बन्धित सडकको अवस्थाबारे प्रहरी र स्थानीय प्रशासनसँग जानकारी लिन आग्रह गरेको छ।





