सात गोलमा मेसीसँग बराबरी, गोल्डेन बुट दौडमा एमबाप्पे अगाडि

ड्रागन मिडिया समाचार कक्ष
फ्रान्सका कप्तान किलियन एमबाप्पे अर्जेन्टिनी कप्तान लियोनल मेसीसँग समान सात गोल गर्दै फिफा विश्वकपको सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा उक्लिएका छन्।
पाराग्वेविरुद्ध अन्तिम १६ को खेलमा निर्णायक गोल गरेपछि एमबाप्पेले जारी प्रतियोगितामा आफ्नो गोल सङ्ख्या सात पुर्याएका हुन्। उनको गोलमा फ्रान्सले पाराग्वेलाई १–० ले पराजित गर्दै विश्वकपको क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको थियो।
एमबाप्पे र मेसीले समान सात गोल गरे पनि गोल्डेन बुटको प्राविधिक वरीयतामा फ्रान्सेली कप्तान अगाडि छन्। एमबाप्पेले पाँच खेलमा सात गोल गर्नुका साथै दुई असिस्ट गरेका छन्। मेसीले चार खेलमा सात गोल गरेका छन् तर पछिल्लो आधिकारिक संशोधनपछि उनको नाममा असिस्ट छैन।
फिफाको नियमअनुसार दुई वा त्यसभन्दा बढी खेलाडीको गोल सङ्ख्या बराबर भएमा असिस्टलाई पहिलो आधार मानिन्छ। असिस्ट पनि बराबर भए कम समय खेलेका खेलाडीले उच्च स्थान प्राप्त गर्छन्। त्यस आधारमा एमबाप्पे अहिले गोल्डेन बुटको दौडमा मेसीभन्दा अगाडि रहेका हुन्।
नर्वेका अर्लिङ हालान्ड र इङ्गल्यान्डका कप्तान ह्यारी केन समान पाँच गोलसहित त्यसपछिको स्थानमा छन्। हालान्डले चार खेलमा ३१० मिनेट तथा केनले पाँच खेलमा ३९४ मिनेट मैदानमा बिताएका छन्।
फ्रान्सका ओसमान डेम्बेले, स्पेनका मिकेल ओयारजाबाल, ब्राजिलका भिनिसियस जुनियर र सेनेगलका इस्माइला सारले समान चार गोल गरेका छन्। डेम्बेलेले दुई असिस्ट गरेका छन् भने ओयारजाबाल, भिनिसियस र सारको नाममा समान एक असिस्ट छ।
एमबाप्पेले जारी विश्वकपका पाँच खेलमा सात गोल गर्दै आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिएका छन्। विश्वकप इतिहासमा उनको कुल गोल सङ्ख्या १९ पुगेको छ। उनी सर्वाधिक २० गोल गरेका मेसीभन्दा अब एक गोलले मात्र पछाडि छन्।
एमबाप्पेले सन २०२२ को कतार विश्वकपमा आठ गोल गर्दै गोल्डेन बुट जितेका थिए। जारी प्रतियोगितामा पनि शीर्ष गोलकर्ता बने उनी दुईपटक विश्वकप गोल्डेन बुट जित्ने पहिलो खेलाडी बन्नेछन्।





