२१ असार २०८३, आईतवार

सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्को भिड्ने

ड्रागन मिडिया समाचार कक्ष

फिफा विश्वकप २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ।

शनिबार सम्पन्न अन्तिम १६ का खेलमा मोरक्कोले सहआयोजक क्यानडालाई ३–० ले पराजित गर्दा फ्रान्सले पाराग्वेमाथि १–० को कठिन जित निकाल्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेका हुन्।

मोरक्कोको जितमा अजेदिन उनाहीले दुई गोल गरे भने सोफियान रहिमीले अतिरिक्त समयमा अर्को गोल थपेका थिए। पहिलो हाफमा क्यानडाले दबाब सिर्जना गरे पनि अवसरलाई गोलमा बदल्न नसक्दा दोस्रो हाफमा मोरक्कोले खेल आफ्नो नियन्त्रणमा लिएको थियो।

फ्रान्सले भने पाराग्वेको बलियो रक्षापंक्ति तोड्न लामो समय संघर्ष गर्नुपरेको थियो। खेलको ७०औँ मिनेटमा कप्तान किलियन एमबाप्पेले पेनाल्टीमार्फत गरेको गोल नै फ्रान्सको जितका लागि निर्णायक बन्यो।

यस गोलसँगै एमबाप्पेले जारी विश्वकपमा आफ्नो गोल सङ्ख्या सात पुर्‍याएका छन्। उनी सर्वाधिक गोलकर्ताको सूचीमा अर्जेन्टिनाका कप्तान लियोनल मेसीसँग बराबरीमा पुगेका छन्।

मोरक्को र फ्रान्सबीचको क्वार्टरफाइनल खेल जुलाई ९, बिहीबार अमेरिकाको बोस्टन स्टेडियममा हुनेछ। खेलको विजेता विश्वकपको सेमिफाइनलमा प्रवेश गर्नेछ।

फ्रान्स र मोरक्को विश्वकपको नकआउट चरणमा आमनेसामने हुन लागेको यो लगातार दोस्रो प्रतियोगिता हो। कतारमा सम्पन्न सन २०२२ को विश्वकप सेमिफाइनलमा फ्रान्सले मोरक्कोलाई पराजित गरेको थियो। यसपटक मोरक्कोले अघिल्लो हारको बदला लिने लक्ष्य राख्दा फ्रान्स उपाधि यात्रालाई निरन्तरता दिने प्रयासमा हुनेछ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button