नारायणघाट–बुटवल सडकमा बाँदरका लागि नेपालकै पहिलो ‘क्यानोपी ब्रिज’

ड्रागन मिडिया समाचार कक्ष
नवलपुर। नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा बाँदर, लङ्गुरलगायत रुखमा बस्ने वन्यजन्तुलाई सुरक्षित रूपमा सडक पार गराउन ‘ओभरहेड क्यानोपी ब्रिज’ निर्माण गरिएको छ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोटस्थित पितौजी जङ्गल क्षेत्रमा निर्माण गरिएको यो संरचना सडक आयोजनाअन्तर्गत बाँदरलाई लक्षित गरी बनाइएको नेपालकै पहिलो क्यानोपी ब्रिज भएको आयोजना कार्यालयले जनाएको छ। क्यानोपी ब्रिज पितौजीको किलोमिटर ९+१२० क्षेत्रमा निर्माण गरिएको हो।
वन क्षेत्र हुँदै सडक विस्तार गर्दा वन्यजन्तुको परम्परागत आवागमन अवरुद्ध हुने र सवारीसाधनसँग ठोक्किने जोखिम बढ्ने भएकाले जैविक विविधता संरक्षण तथा प्रवर्द्धन कार्यक्रमअन्तर्गत यस्तो संरचना निर्माण गरिएको आयोजनाका सूचना अधिकारी एवं इन्जिनियर शिव खनालले बताए।
“नेपालमा सडक आयोजनाअन्तर्गत बाँदरलाई लक्षित गरेर निर्माण गरिएको यो पहिलो क्यानोपी ब्रिज हो,” खनालले भने, “सडक विस्तारसँगै वन्यजन्तुको बासस्थान र आवागमनमा पर्ने प्रभाव न्यूनीकरण गर्न यो संरचना निर्माण गरिएको हो।”
उनका अनुसार यसको प्रयोग र प्रभावकारिताको अध्ययन गरिनेछ। संरचना उपयोगी देखिए वन्यजन्तुको आवागमन बढी हुने अन्य उपयुक्त स्थानमा पनि यस्तै क्यानोपी ब्रिज निर्माण गर्ने योजना छ।
रुखबाट रुखमा आवतजावत गर्ने बाँदर, लङ्गुर तथा अन्य वन्यजन्तुले सडक पार गर्न जमिनमा झर्नुपर्ने अवस्था कम गर्नु यसको प्रमुख उद्देश्य हो। वन्यजन्तु सडकमा आउँदा हुने दुर्घटनाको जोखिम घटाउनुका साथै यसले चालक र यात्रुको सुरक्षामा पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ।
क्यानोपी ब्रिजले सडकका दुवैतर्फका रुख तथा वन क्षेत्रलाई माथिबाट जोड्छ। वन्यजन्तुले सवारीसाधन चलिरहेको सडकमा नओर्लीकनै उक्त संरचनामार्फत एकातर्फबाट अर्कोतर्फ जान सक्छन्। आयोजना क्षेत्रका विभिन्न स्थानमा वन्यजन्तुको आवागमन सहज बनाउन यसअघि भूमिगत मार्गलगायतका संरचना पनि निर्माण गरिएको छ।
एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा नारायणघाट–बुटवल सडकलाई चार लेनमा विस्तार गर्ने काम भइरहेको छ। एडीबीका परियोजना अभिलेखमा नारायणघाट–बुटवल सडकको लम्बाइ करिब ११५ किलोमिटर उल्लेख गरिएको छ। आयोजनालाई पूर्वी र पश्चिमी गरी दुई निर्माण खण्डमा विभाजन गरिएको छ। पूर्वी खण्डको लम्बाइ करिब ६४ किलोमिटर छ।
आयोजना कार्यालयका अनुसार जुन २०२६ सम्म पूर्वी खण्डको समष्टिगत भौतिक प्रगति ९२.३८ प्रतिशत पुगेको छ। अधिकांश क्षेत्रमा मुख्य सडकको कालोपत्र, कङ्क्रिट ढलान, पुल, नाला तथा अन्य संरचनाको काम सम्पन्न वा अन्तिम चरणमा पुगेको जनाइएको छ।
सडक निर्माणसँगै वातावरणीय प्रभाव न्यूनीकरणका लागि वन्यजन्तुमैत्री संरचना, पानी निकासका नाला, सडक सुरक्षा पूर्वाधार, वृक्षरोपण तथा हरियाली प्रवर्द्धनका कार्यक्रम पनि कार्यान्वयन भइरहेका छन्।
आयोजना कार्यालयले पितौजीमा निर्माण गरिएको क्यानोपी ब्रिजले सडक पूर्वाधार विकास र जैविक विविधता संरक्षणलाई सँगसँगै अघि बढाउने नयाँ अभ्यास स्थापित गर्ने अपेक्षा गरेको छ।





