२१ असार २०८३, आईतवार

बहुपक्षीयता र सहकार्य सुदृढ गर्न चीन र स्विडेन सहमत

ड्रागन मिडिया समाचार कक्ष

चीन र स्विडेनले द्विपक्षीय सहकार्य विस्तार गर्दै संयुक्त राष्ट्रसंघ केन्द्रित अन्तर्राष्ट्रिय प्रणाली, अन्तर्राष्ट्रिय कानुनमा आधारित विश्व व्यवस्था तथा बहुपक्षीय व्यापार प्रणालीको संरक्षणका लागि समन्वय बढाउने सहमति गरेका छन्।

चिनियाँ विदेशमन्त्री वाङ यी र स्विडेनकी विदेशमन्त्री मारिया माल्मर स्टेनेगार्डबीच शनिबार स्टकहोममा भएको वार्तामा व्यापार, विज्ञान तथा प्रविधि, हरित रूपान्तरण, कृत्रिम बुद्धिमत्ता, पर्यावरण संरक्षण र दिगो विकासलगायत क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको हो। स्विडेन सरकारले जुलाई ४ मा द्विपक्षीय वार्ता आयोजना गरिएको पुष्टि गरेको छ। भ्रमणका क्रममा वाङले स्विडेनका प्रधानमन्त्री उल्फ क्रिस्टर्सनसँग पनि शिष्टाचार भेट गरेका छन्।

चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्यसमेत रहेका वाङले चीन र स्विडेनबीच लामो समयदेखि आदानप्रदान र सहकार्य हुँदै आएको बताए। चीनले सुधार तथा खुलापनको नीति सुरु गरेपछि दुवै देश क्रमशः एसिया र नर्डिक क्षेत्रमा एकअर्काका महत्वपूर्ण व्यापारिक साझेदार बनेको उनको भनाइ थियो।

दशकौँ लामो द्विपक्षीय सम्बन्धबाट प्राप्त अनुभवले एकअर्कालाई वस्तुगत र विवेकपूर्ण रूपमा बुझ्नुपर्ने, पारस्परिक सम्मान कायम राख्नुपर्ने तथा मतभेदलाई उचित ढङ्गले व्यवस्थापन गर्नुपर्ने देखाएको वाङले बताए। उनले साझा हित खोज्दै पारस्परिक लाभ र दुवै पक्षको हितमा आधारित सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।

पछिल्ला केही वर्षमा चीन र स्विडेनको सम्बन्धले केही कठिनाइ सामना गरे पनि सन् २०२५ मा स्टेनेगार्डले चीनको भ्रमण गरेपछि सम्बन्धमा सुधार आएको वाङले उल्लेख गरे। स्विडेनी विदेशमन्त्रीको उक्त भ्रमण चीन र स्विडेनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७५औँ वार्षिकोत्सवका अवसरमा भएको थियो।

वाङले द्विपक्षीय सम्बन्धलाई स्वस्थ र स्थिर रूपमा अगाडि बढाउन चीन स्विडेनसँग सहकार्य गर्न तयार रहेको बताए। उनले स्विडेनले एक चीन सिद्धान्तको पालना गर्दै दुई देशबीचको राजनीतिक आधारलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे।

वार्ताका क्रममा स्टेनेगार्डले एक चीन सिद्धान्तप्रति स्विडेनको प्रतिबद्धता अपरिवर्तित रहने बताएको चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ। उनले सबै तहमा संवाद बढाउँदै आर्थिक तथा व्यापारिक सहकार्य र विज्ञान तथा प्रविधिसम्बन्धी संयुक्त संयन्त्रको प्रभावकारी प्रयोग गरिने बताइन्।

वाङका अनुसार स्विडेनका १० हजारभन्दा बढी कम्पनीले चीनसँग व्यापारिक कारोबार गरिरहेका छन्। उनले चीनको विशाल बजार, पूर्ण औद्योगिक श्रृंखला र विविध प्रयोगात्मक अवसरबाट थप लाभ लिन स्विडेनी कम्पनीलाई आग्रह गरे।

चीनले आफ्नो बजार विदेशी कम्पनीका लागि खुला राख्ने बताउँदै वाङले स्विडेनमा सञ्चालन भइरहेका चिनियाँ कम्पनीलाई निष्पक्ष, न्यायोचित र भेदभावरहित व्यावसायिक वातावरण उपलब्ध गराउन आग्रह गरे।

दुवै देशले चीन स्विडेन विज्ञान तथा प्रविधि सहकार्य संयुक्त समितिलगायत विद्यमान संयन्त्रको प्रभावकारी प्रयोग गर्ने विषयमा पनि जोड दिएका छन्। वैज्ञानिक तथा प्राविधिक नवप्रवर्तन, हरित रूपान्तरण, चक्रीय अर्थतन्त्र, कृत्रिम बुद्धिमत्ता, पर्यावरण संरक्षण र दिगो विकासलाई सहकार्यका सम्भावित क्षेत्रका रूपमा पहिचान गरिएको छ।

वाङले सांस्कृतिक, शैक्षिक र जनस्तरीय आदानप्रदान विस्तार गर्नुपर्ने बताए। स्टेनेगार्डले स्विडेनी नागरिकका लागि चीनले लागू गरेको प्रवेशाज्ञामुक्त नीतिको प्रशंसा गर्दै शैक्षिक संस्था, विद्यार्थी, अनुसन्धानकर्ता र सर्वसाधारणबीचको सम्पर्क बढाउन स्विडेन इच्छुक रहेको बताइन्।

अन्तर्राष्ट्रिय परिस्थिति जटिल बन्दै गएको र संयुक्त राष्ट्रसंघलगायत बहुपक्षीय संयन्त्रले गम्भीर चुनौती सामना गरिरहेको वाङको भनाइ थियो। नियममा आधारित सहकार्य कमजोर भए विश्व पुनः शक्तिशाली पक्षले मात्र निर्णय गर्ने अवस्थातर्फ जान सक्ने उनले बताए।

चीन र स्विडेन दुवै बहुपक्षीयता र स्वतन्त्र व्यापारका समर्थक तथा लाभग्राही भएको उल्लेख गर्दै वाङले संयुक्त राष्ट्रसंघ केन्द्रित अन्तर्राष्ट्रिय प्रणालीको संरक्षण, अन्तर्राष्ट्रिय कानुनमा आधारित व्यवस्था कायम राख्न र जलवायु परिवर्तनजस्ता विश्वव्यापी चुनौतीको सामना गर्न सहकार्य बढाउनुपर्ने बताए।

स्टेनेगार्डले वर्तमान विश्व अस्थिरता र अनिश्चितताले घेरिएको उल्लेख गर्दै अन्तर्राष्ट्रिय कानुन, बहुपक्षीय व्यापार नियम तथा विश्व शान्ति र विकासका पक्षमा चीनसँग सञ्चार र समन्वय बढाउन स्विडेन तयार रहेको बताइन्।

चिनियाँ विदेशमन्त्री वाङ जुलाई २ देखि ८ सम्म डेनमार्क, स्विडेन, फिनल्यान्ड र नर्वेको भ्रमणमा छन्। चीनले नर्डिक देशहरूसँग राजनीतिक संवाद, हरित विकास, प्रविधि, व्यापार तथा बहुपक्षीय मामिलामा सहकार्य विस्तारलाई भ्रमणको प्रमुख उद्देश्यका रूपमा प्रस्तुत गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button