२१ असार २०८३, आईतवार

सरकारविरुद्ध केही महिनाभित्र सडक आन्दोलन गर्ने प्रचण्डको चेतावनी

ड्रागन मिडिया समाचार कक्ष

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले गलत कामलाई निरन्तरता दिए केही महिनाभित्र सडक आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।

रुपन्देहीको बुटवलमा शनिबार आयोजित पार्टीको लुम्बिनी प्रदेश समितिको प्रथम एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले सरकारका गतिविधिबारे आफ्नो पार्टीले केही समय परिस्थिति हेर्ने तर चुप लागेर नबस्ने बताए।

“अहिले हामी बोल्ने बेला आउला भनेर बसेका छौँ। आवश्यक परे बोल्ने मात्रै होइन, राम्रोसँग लड्ने पनि छौँ,” उनले भने। सरकारका गलत कामविरुद्ध जनतालाई साथमा लिएर आन्दोलन गर्ने तयारीमा पार्टी रहेको उनको भनाइ थियो।

प्रचण्डले भदौ २३ र २४ गते काठमाडौँमा भएका प्रदर्शन तथा आगजनीका घटनालाई भूराजनीतिक षड्यन्त्रको संज्ञा दिए। ती घटना सुशासन वा सुधारका उद्देश्यबाट नभई नेपालको भूराजनीतिक अवस्थामाथि प्रभाव पार्ने योजनाअन्तर्गत भएको उनको दाबी थियो।

भारत र चीनलाई नियन्त्रण गर्न नेपाललाई रणनीतिक आधार बनाउने इन्डो–प्यासिफिक रणनीतिअन्तर्गत आन्दोलन सञ्चालन गरिएको आरोप लगाउँदै उनले आफ्नो र सहसंयोजक माधवकुमार नेपालको निवास, पार्टी कार्यालय तथा सिंहदरबारमाथि आक्रमण भएको बताए। यद्यपि, उनले प्रस्तुत गरेको यस दाबीको समर्थनमा सार्वजनिक रूपमा प्रमाण पेस गरेको विवरण प्राप्त भएको छैन।

उनले हालै सम्पन्न निर्वाचन प्रक्रियामाथि पनि प्रश्न उठाए। उम्मेदवारको परिचय र राजनीतिक पृष्ठभूमिबारे मतदाता पर्याप्त जानकार नभए पनि केही व्यक्तिले अप्रत्याशित परिणाम प्राप्त गरेको उल्लेख गर्दै उनले निर्वाचनमा “दालमा केही कालो” रहेको आशङ्का व्यक्त गरे।

धनुषामा निर्वाचन आयोगबाट उम्मेदवारी खारेज भइसकेको व्यक्तिले पार्टी नेता मातृका यादवले भन्दा तीनदेखि चार गुणा बढी मत प्राप्त गरेको दाबी गर्दै प्रचण्डले सामाजिक सञ्जाल र अल्गोरिदमको प्रयोगबाट मतदातामा भ्रम सिर्जना गरिएको आरोप लगाए। उक्त निर्वाचनसम्बन्धी दाबीको स्वतन्त्र पुष्टि भने भएको छैन।

आफू नेतृत्वको अघिल्लो सरकार ढल्नुको प्रमुख कारण भ्रष्टाचारविरोधी अभियान भएको पनि प्रचण्डले दाबी गरे। आफू प्रधानमन्त्री तथा वर्षमान पुन अर्थमन्त्री र नारायणकाजी श्रेष्ठ गृहमन्त्री रहेका बेला ठुला राजनीतिक नेता, कर्मचारी र व्यवसायीमाथि अनुसन्धान तथा कारबाही अघि बढेपछि नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार ढालेको उनको आरोप थियो।

पार्टीभित्र नेतृत्व पुस्तान्तरणको माग उठिरहेको विषयमा प्रचण्डले आफू विधि, प्रक्रिया र महाधिवेशनबाट जिम्मेवारी हस्तान्तरण गर्न तयार रहेको बताए। तर सामाजिक सञ्जाल र सार्वजनिक मञ्चबाट अपमान गरेर नेतृत्वबाट हटाउन खोज्ने प्रवृत्ति स्वीकार्य नहुने उनको भनाइ थियो।

उनले नेतृत्व इतिहास, आन्दोलन र संघर्षबाट निर्माण हुने उल्लेख गर्दै आफूलाई चुनौती दिएर पार्टीबाट अलग भएका मोहन वैद्य, बाबुराम भट्टराई, नेत्रविक्रम चन्द र जनार्दन शर्माको राजनीतिक अवस्थाबारे व्यङ्ग्यात्मक टिप्पणी गरे। आफूलाई अपमान गर्ने कतिपय व्यक्ति आफ्नै नेतृत्वका कारण पटकपटक मन्त्री र सांसद बनेको उनले बताए।

प्रचण्डले तत्काल पार्टी वा सक्रिय राजनीति नछाड्ने स्पष्ट गर्दै आगामी महाधिवेशनपछि आफ्नो भूमिका र जिम्मेवारी परिवर्तन हुन सक्ने संकेत गरे। महाधिवेशनपछि पार्टी पुनर्गठन, जिम्मेवारीको पुनर्विन्यास, नयाँ पुस्ताको नेतृत्व विकास र वैचारिक रूपान्तरणलाई तीव्र बनाइने उनको भनाइ थियो।

उनले नेता तथा कार्यकर्तालाई अन्य पार्टीसँग एकता हुने चर्चाको पछि नलागी महाधिवेशनको तयारी, सङ्गठन विस्तार, वैचारिक प्रशिक्षण र जनसम्पर्कमा केन्द्रित हुन निर्देशन दिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button