सुदूरपश्चिमसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना

ड्रागन मिडिया समाचार कक्ष
देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आज गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वी नेपालतर्फ सरदर स्थानभन्दा दक्षिणमा तथा पश्चिमी क्षेत्रतर्फ सरदर स्थानको आसपास अवस्थित छ।
हाल देशभर साधारणतया बादल लागेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशका हिमाली तथा पहाडी क्षेत्रमा साधारणतया बादल लाग्ने अनुमान छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि साधारणतया बादल लाग्नेछ भने कोशी, मधेस र बागमती प्रदेशका तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बादल लाग्ने सम्भावना छ।
देशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा कोशी र बागमती प्रदेशका तराईका केही स्थानमा पनि मध्यम वर्षाको सम्भावना छ। मधेस प्रदेशका एकदुई स्थानमा वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका एकदुई स्थानमा दिउँसो भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ भने बाँकी प्रदेशमा आंशिकदेखि साधारणतया बादल लाग्ने अनुमान छ। हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमपात हुन सक्नेछ।
राति सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोशी र कर्णाली प्रदेशका पहाडी क्षेत्र तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्नेछ।
कोशी प्रदेशको तराई तथा मधेस प्रदेशका एकदुई स्थानमा समेत वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका पहाडी र तराई क्षेत्रका एकदुई स्थानमा राति भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
विभागले भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। विभागको वेबसाइटमा आइतबारका लागि मौसम तथा जलविज्ञानसम्बन्धी चेतावनी प्रभावमा रहेको उल्लेख छ।





