चीनद्वारा ‘स्पेससेल’को १३औँ उपग्रह समूह प्रक्षेपण

ड्रागन मिडिया समाचार कक्ष
चीनले विश्वव्यापी उपग्रह इन्टरनेट सेवा विस्तार गर्ने योजनाअन्तर्गत ‘स्पेससेल कन्स्टेलेसन’को नयाँ उपग्रह समूह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ।
उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन उपग्रह प्रक्षेपण केन्द्रबाट शनिबार बेइजिङ समयअनुसार अपराह्न ५ः३० बजे उपग्रहहरू प्रक्षेपण गरिएको हो। परिमार्जित लङ मार्च–६ वाहक रकेटमार्फत पठाइएका उपग्रहहरू पूर्वनिर्धारित कक्षमा सफलतापूर्वक प्रवेश गरेका छन्।


प्रक्षेपण गरिएका उपग्रहहरू चीनले विकास गरिरहेको तल्लो पृथ्वी कक्षीय व्यावसायिक उपग्रह सञ्जाल ‘स्पेससेल कन्स्टेलेसन’को १३औँ समूहमा समावेश छन्। यो सञ्जाल विश्वका विभिन्न क्षेत्रमा उच्च गति, सुरक्षित र भरपर्दो ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउने उद्देश्यले निर्माण भइरहेको छ।
सांघाईमा मुख्यालय रहेको स्पेससेल टेक्नोलोजिज कम्पनीले सञ्चालन गरिरहेको परियोजनाअन्तर्गत भविष्यमा १५ हजारभन्दा बढी उपग्रह तल्लो पृथ्वी कक्षमा स्थापना गर्ने योजना छ। स्थलमा सञ्चार पूर्वाधार विस्तार गर्न कठिन हुने दुर्गम तथा विकट क्षेत्रमा कम विलम्बसहितको इन्टरनेट सेवा उपलब्ध गराउनु परियोजनाको मुख्य उद्देश्य हो।
स्पेससेललाई यसअघि ‘जी–६०’ उपग्रह सञ्जालका रूपमा पनि चिनिन्थ्यो। यस सञ्जालले स्थल क्षेत्रसँगै समुद्रमा रहेका जहाज तथा अन्य चलायमान माध्यममा समेत उपग्रह इन्टरनेट सेवा उपलब्ध गराउन सक्ने गरी परीक्षण र विकास भइरहेको छ।
स्पेससेलको अन्तर्राष्ट्रिय व्यावसायिक विस्तार पनि अघि बढिरहेको छ। ब्राजिलको दूरसञ्चार नियामक निकायले सन् २०२६ मा कम्पनीलाई व्यावसायिक सञ्चार सेवा सञ्चालन गर्न अनुमति दिएको थियो। यससँगै ल्याटिन अमेरिकी बजारमा चिनियाँ तल्लो पृथ्वी कक्षीय उपग्रह सञ्जालको विस्तारका लागि मार्ग खुलेको छ।
स्पेससेल र ब्राजिलको सरकारी दूरसञ्चार कम्पनी टेलिब्रासबीच सन् २०२४ मा भएको समझदारीअनुसार दुर्गम क्षेत्रका विद्यालय, अस्पताल तथा अन्य सार्वजनिक सेवालाई उपग्रह इन्टरनेटसँग जोड्ने योजना अघि सारिएको छ।
शनिबारको प्रक्षेपण लङ मार्च शृंखलाका वाहक रकेटहरूको ६५५औँ उडान मिसन हो। चीनले यस शृंखलामार्फत सञ्चार, पृथ्वी अवलोकन, मौसम, वैज्ञानिक अनुसन्धान तथा अन्तरिक्ष पूर्वाधारसँग सम्बन्धित विभिन्न उपग्रह प्रक्षेपण गर्दै आएको छ।
नयाँ उपग्रह समूहको सफल प्रक्षेपणसँगै चीनको व्यावसायिक अन्तरिक्ष उद्योग र विश्वव्यापी उपग्रह सञ्चार बजारमा स्पेससेलको उपस्थिति थप विस्तार भएको छ।





