२१ असार २०८३, आईतवार

दाउन्ने सडकको कङ्क्रिट ढलान अन्तिम चरणमा, ५० मिटर काम बाँकी

ड्रागन मिडिया समाचार कक्ष

पूर्व–पश्चिम राजमार्गअन्तर्गत चुनौतीपूर्ण मानिने दाउन्ने खण्डको कङ्क्रिट ढलान निर्माण अन्तिम चरणमा पुगेको छ। दाउन्ने मन्दिरमुनिको पहिरो प्रभावित क्षेत्रमा अब करिब ५० मिटर एकतर्फी ढलान गर्न मात्र बाँकी रहेको आयोजना कार्यालयले जनाएको छ।

सडकको एउटा भागमा ढलान सम्पन्न भएपछि सवारीसाधन सञ्चालनमा आइसकेका छन्। बाँकी काम पूरा भएसँगै लामो समयदेखि धुलो, हिलो, खाल्डाखुल्डी र यातायात अवरोधको समस्या भोग्दै आएका यात्रु तथा चालकलाई राहत पुग्ने अपेक्षा गरिएको छ।

दाउन्नेको कमजोर भौगोलिक अवस्था, निरन्तर पानीको बहाव, उकालो ओरालो र अत्यधिक सवारी चापलाई ध्यानमा राख्दै आयोजनाले परम्परागत कालोपत्रेको सट्टा कङ्क्रिट ढलानयुक्त कठोर सडक संरचना निर्माण गरेको हो। यसअघि पनि दाउन्नेलाई सडक विस्तार आयोजनाको सबैभन्दा संवेदनशील खण्ड मान्दै कालोपत्रेभन्दा बढी टिकाउ संरचना निर्माण गर्ने निर्णय गरिएको थियो।

सडक विभागअन्तर्गत आयोजना निर्देशनालयका निर्देशक चुडाराज ढकालका अनुसार कङ्क्रिट ढलानबाट निर्माण गरिएको सडकको न्यूनतम आयु ३० वर्ष हुने अनुमान छ। संरचना आगामी तीन दशकमा बढ्न सक्ने सवारी चापलाई आधार मानेर तयार गरिएको उनले बताए।

“हामीले आगामी तीन दशकको सवारी चापको पूर्वानुमानका आधारमा यो संरचना तयार गरेका हौँ,” ढकालले भने, “दैनिक १२ हजारदेखि २० हजारसम्म सवारीसाधन आवतजावत गर्दा पनि सडकले भार वहन गर्न सक्ने गरी यसको निर्माण गरिएको छ।”

उनका अनुसार सडकको भारवहन क्षमता एकल चक्कामा १० टन निर्धारण गरिएको छ। डिजाइनअनुसारका मापदण्ड पालना हुनुका साथै तोकिएको भारसीमा प्रभावकारी रूपमा नियन्त्रण गर्न सकिए सडक ४० वर्षसम्म टिक्न सक्ने आयोजनाको अनुमान छ।

दाउन्ने खण्डमा पहिले कङ्क्रिट ढलान गर्ने व्यवस्था मूल डिजाइनमा थिएन। तर बारम्बार सडक बिग्रने, वर्षामा हिलो र पहिरोको समस्या देखिने तथा कालोपत्रे सडकको नियमित मर्मत आवश्यक पर्ने भएपछि संरचनाको स्वरूप परिवर्तन गरिएको हो। सुरुमा कङ्क्रिट सडकको लागत बढी भए पनि यसको आयु लामो हुने र नियमित मर्मत खर्च कम लाग्ने आयोजनाको भनाइ छ।

नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको कुल लम्बाइ ११३ किलोमिटर छ। एसियाली विकास बैंकको ऋण सहयोगमा निर्माण भइरहेको सडकलाई पूर्वी र पश्चिमी गरी दुई खण्डमा विभाजन गरिएको छ। दाउन्नेको पहाडी क्षेत्रमा तीन लेनको सडक निर्माण भइरहेको छ।

निर्धारित समयभित्र निर्माण सम्पन्न हुन नसक्दा आयोजनाको म्याद पटकपटक थपिएको थियो। पछिल्लो समय दाउन्ने क्षेत्रमा भित्ता काट्ने, पहिरो नियन्त्रण, नाला तथा कल्भर्ट निर्माण र कङ्क्रिट ढलानको कामलाई तीव्रता दिइएको छ। यसअघि पूर्वी खण्डमा एकतर्फी ढलान पूरा गर्ने काम क्रमशः अन्तिम चरणमा पुगेको आयोजना कार्यालयले जनाएको थियो।

बाँकी ढलान सम्पन्न भएपछि दाउन्ने खण्डमा बर्सेनि दोहोरिने सडक अवरोध, खाल्डाखुल्डी र मर्मतसम्बन्धी समस्या दीर्घकालीन रूपमा घट्ने सरकारको अपेक्षा छ। आयोजनाले निर्माणको गुणस्तर, भार नियन्त्रण र नियमित अनुगमन कायम भए दाउन्ने सडकमा यात्रु तथा चालकले भोग्दै आएको सास्ती उल्लेखनीय रूपमा अन्त्य हुने जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button