वैदेशिक रोजगारीका नाममा ३९ लाख ठगी आरोपमा दुई पक्राउ

ड्रागन मिडिया समाचार कक्ष
आकर्षक तलबसहित वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभन देखाएर सात जनाबाट कुल ३९ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका निवासी ३८ वर्षीय सरोज पन्त र रामेछापको लिखु तामाकोसी गाउँपालिका निवासी २२ वर्षीय अनिल खत्री रहेका छन्। उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार पन्तले एक जनालाई आयरल्यान्ड पठाइदिने र आकर्षक तलब हुने काममा लगाइदिने प्रलोभन देखाएर १६ लाख रुपैयाँ लिएको आरोप छ। खत्रीले भने छ जनालाई संयुक्त अरब इमिरेट्स पठाइदिने भन्दै २३ लाख रुपैयाँ असुलेको उजुरी परेको छ। रकम लिएपछि विदेश नपठाई सम्पर्कविहीन भएको पीडितको जाहेरीका आधारमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
पन्तलाई असार १८ गते काठमाडौँ महानगरपालिका क्षेत्रबाट र खत्रीलाई असार १९ गते टोखाबाट पक्राउ गरिएको हो। दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ। उनीहरूमाथिको आरोप अनुसन्धान र न्यायिक प्रक्रियाबाट पुष्टि हुन बाँकी छ।
यसैबीच प्रहरीले काठमाडौँ, मोरङ, पर्सा, भक्तपुर, कैलाली, गोरखा, सुनसरी, बाँके, पाल्पा र झापाका विभिन्न स्थानबाट लागूऔषधसहित १७ जनालाई पक्राउ गरेको छ।
प्रहरीले उनीहरूको साथबाट ट्रामाडोल, गाँजा, खैरो हेरोइन र चरेसजस्तो देखिने पदार्थसहित केही सवारीसाधन, तौल गर्ने उपकरण र नगदसमेत बरामद गरेको जनाएको छ। पक्राउ परेकामाथि सम्बन्धित जिल्ला प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको छ।





