२१ असार २०८३, आईतवार

घरेलु तथा साना उद्योग महासङ्घको २६औँ राष्ट्रिय महाधिवेशन सुरु

ड्रागन मिडिया समाचार कक्ष

लघु, घरेलु तथा साना उद्यमीहरूको छाता सङ्गठन नेपाल घरेलु तथा साना उद्योग महासङ्घको २६औँ राष्ट्रिय महाधिवेशन आइतबारदेखि ललितपुरको जावलाखेलमा सुरु भएको छ।

महाधिवेशनसँगै २३औँ राष्ट्रिय महिला उद्यमी सम्मेलन पनि आयोजना गरिएको छ। देशका सातै प्रदेश र ७७ जिल्लाबाट प्रतिनिधि, पर्यवेक्षक तथा महिला उद्यमीसहित करिब एक हजार जनाको सहभागिता रहेको महासङ्घले जनाएको छ।

महाधिवेशनमा महासङ्घका विगतका नीति, कार्ययोजना र गतिविधिको समीक्षा गर्नुका साथै सङ्गठनात्मक समस्या पहिचान, विधान संशोधन तथा बदलिँदो आर्थिक परिवेशमा उद्यमीले सामना गरिरहेका चुनौतीबारे छलफल गरिनेछ।

महाधिवेशन व्यवस्थापन समितिका संयोजक मोहन कटुवालका अनुसार बैठकले लघु, घरेलु तथा साना उद्योगको प्रवर्द्धनका लागि आगामी कार्यक्रम र रणनीतिक योजना तय गर्नुका साथै नयाँ नेतृत्व चयन गर्नेछ। महासङ्घ र केन्द्रीय महिला उद्यमी समितिको आगामी तीन वर्षे कार्यकालका लागि नेतृत्व चयन गर्ने कार्यक्रम छ।

उद्घाटन समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले सार्वजनिक र निजी क्षेत्रको साझेदारी सुदृढ गर्दै रोजगारी सिर्जनामा केन्द्रित हुनुपर्ने बताए।

उनले स्थानीय आर्थिक विकासका लागि उद्यमीलाई प्रोत्साहन दिनुका साथै परम्परागत शीपलाई आधुनिक प्रविधिसँग जोड्न आवश्यक रहेको धारणा राखे। स्थानीय उत्पादनको गुणस्तर, बजार पहुँच र प्रतिस्पर्धी क्षमता विस्तार गर्न सरकारी तथा निजी क्षेत्रबीच प्रभावकारी सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।

महासङ्घका अध्यक्ष उमेशप्रसाद सिंहले मुलुकभर सञ्चालित लघु, घरेलु तथा साना उद्योगले करिब ३२ लाखदेखि ४० लाख मानिसलाई प्रत्यक्ष रोजगारी प्रदान गरेको दाबी गरे। उनले निजी क्षेत्रको मनोबल बढाउन तथा उत्पादनमूलक उद्योगलाई टिकाइराख्न सरकारले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने बताए।

सरकार र निजी क्षेत्रको सहकार्यबाट मात्र आर्थिक समृद्धि सम्भव हुने उल्लेख गर्दै सिंहले उद्यमीलाई सहज कर्जा, प्रविधि, बजार, पूर्वाधार र नीतिगत स्थिरता उपलब्ध गराउनुपर्नेमा जोड दिए।

महासङ्घले रोजगारी सिर्जना, उद्यमशीलता विकास, स्थानीय श्रोतको उपयोग, आयात प्रतिस्थापन र ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउन लघु, घरेलु तथा साना उद्योगको महत्वपूर्ण भूमिका रहेको जनाएको छ।

औद्योगिक व्यवसाय ऐन, २०७६ को संशोधित व्यवस्थाअनुसार लघु उद्यम र घरेलु उद्योगबाहेक १५ करोड रुपैयाँसम्म स्थिर पुँजी भएका उद्योगलाई साना उद्योग मानिन्छ। १५ करोड रुपैयाँभन्दा बढी र ५० करोड रुपैयाँसम्म स्थिर पुँजी भएका उद्योग मझौला उद्योगको वर्गमा पर्छन् भने ५० करोड रुपैयाँभन्दा बढी स्थिर पुँजी भएका उद्योगलाई ठुला उद्योग मानिन्छ।

आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार चालु आर्थिक वर्षको फागुनसम्म सात हजार ३६३ साना र दुई हजार २३७ मझौला उद्योग दर्ता भएका छन्। महासङ्घले भने मुलुकभर विभिन्न निकायमा दर्ता तथा सञ्चालनमा रहेका साना तथा मझौला उद्योगको सङ्ख्या नौ लाख ८४ हजार हाराहारी रहेको जनाएको छ।

महाधिवेशनमा महिला उद्यमशीलता, आर्थिक सशक्तीकरण, नवप्रवर्तन, प्रविधि हस्तान्तरण र बजार पहुँच विस्तारका विषयमा पनि छलफल हुनेछ। उद्यमीले उत्पादन गरेका नेपाली वस्तुको प्रदर्शनीसमेत आयोजना गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button