कर्णाली नदीमा खसेको मिनीबस चार दिनपछि पनि फेला परेन

ड्रागन मिडिया समाचार कक्ष
दैलेखको कर्णाली नदीमा खसेको मिनीबस दुर्घटनाको चार दिन बितिसक्दा पनि गाडी फेला पर्न सकेको छैन। नदीमा पानीको बहाव उच्च हुनुका साथै पानी अत्यधिक धमिलो भएकाले खोजी कार्य प्रभावित भएको सुरक्षा निकायले जनाएका छन्।
सुर्खेतबाट कालीकोटको रास्कोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश–०२–००१ ख १०५५ नम्बरको मिनीबस बिहीबार बिहान करिब ११ः३० बजे दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ स्थित साँगेतडा सडकबाट कर्णाली नदीमा खसेको थियो।
आइतबारसम्म दुर्घटनाग्रस्त गाडीको अवस्था र त्यसमा सवार यात्रुको यकिन सङ्ख्या खुल्न सकेको छैन। दुर्घटनास्थलदेखि नदीको तल्लो तटीय क्षेत्रका सम्भावित स्थानमा खोजी जारी रहे पनि गाडी फेला नपरेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज सापकोटाका अनुसार उच्च बहाव र धमिलो पानीका कारण नदीभित्र खोजी गर्न कठिन भएको छ।
“अहिलेसम्म गाडी फेला परेको छैन। कति जना सवार थिए भन्ने पनि यकिन हुन सकेको छैन,” सापकोटाले भने, “सबै सुरक्षा निकायका प्रमुख टोलीसहित कर्णाली नदीका विभिन्न स्थानमा खोजी कार्यमा खटिएका छौँ।”
यातायात कम्पनीको अभिलेखमा पाँच जनाले टिकट काटेको देखिए पनि बीच बाटोबाट थप यात्रु चढेको हुन सक्ने सुरक्षाकर्मीको अनुमान छ। बाटोमा रहेका प्रहरी चौकीमा समेत उक्त गाडी प्रवेश गरेको अभिलेख नभेटिएकाले यात्रुको वास्तविक सङ्ख्या निर्धारण गर्न कठिन भएको बताइएको छ।
दुर्घटनापछि भीरमा अड्किएको अवस्थामा एक जनाको शव फेला परेको थियो। शवको सनाखत भइसके पनि गाडीमा रहेका भनिएका अन्य व्यक्तिको अवस्था अझै अज्ञात छ।
मिनीबस र बेपत्ता यात्रुको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका १७६ जना सुरक्षाकर्मी परिचालन गरिएको छ। खोजीमा हेलिकप्टर, ड्रोन क्यामरा, गोताखोर तथा विपद उद्धार टोलीसमेत प्रयोग गरिएको छ।
उत्तरपश्चिम पृतना हेडक्वार्टरका अनुसार नेपाली सेनाले दुर्घटनास्थलदेखि बर्दियासम्मको कर्णाली नदी क्षेत्रमा करिब ७० जना सैनिक परिचालन गरेको छ। सशस्त्र प्रहरी बलका ३६ र नेपाल प्रहरीका ७० जनासहित जल उद्धार तथा विपद व्यवस्थापन टोली विभिन्न स्थानमा खटिएका छन्।
सेनाले हेलिकप्टर र ड्रोन क्यामराको सहायताबाट नदीका सम्भावित स्थानमा हवाई निगरानी गरिरहेको पृतनापति दिपेशजंग शाहले बताए।
“धमिलो पानी, उच्च बहाव र आवश्यक आधुनिक उपकरणको अभावका कारण खोजी कार्यमा समस्या भइरहेको छ,” शाहले भने।
कर्णाली प्रदेशका मुख्यमन्त्रीले पनि हेलिकप्टर प्रयोग गरेर बेपत्ता यात्रु तथा दुर्घटनाग्रस्त गाडीको खोजी प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
सुरक्षा निकायका अधिकारीहरूले नदीको बहाव कम भएसँगै पानीभित्रको खोजीलाई थप प्रभावकारी बनाइने बताएका छन्। हाल नदी किनार, सम्भावित भुमरी, चट्टानी क्षेत्र र तल्लो तटीय भागमा नियमित निगरानी तथा खोजी जारी राखिएको छ।





