प्रहरी र सशस्त्रका महानिरीक्षक संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी हुन अमेरिका जाँदै

ड्रागन मिडिया समाचार कक्ष
नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेल संयुक्त राष्ट्रसङ्घीय प्रहरी प्रमुखहरूको सम्मेलनमा सहभागी हुन आइतबार अमेरिका प्रस्थान गर्ने भएका छन्।
दुवै महानिरीक्षक अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको प्रधान कार्यालयमा जुलाई ७ र ८ मा आयोजना हुने पाँचौँ संयुक्त राष्ट्रसङ्घीय प्रहरी प्रमुख सम्मेलनमा सहभागी हुनेछन्। मन्त्रीपरिषदले यसअघि नै उनीहरूको भ्रमण स्वीकृत गरिसकेको छ।
महानिरीक्षक कार्की विदेशमा रहने अवधिमा नेपाल प्रहरीको नियमित कामकाज सञ्चालन गर्ने जिम्मेवारी अतिरिक्त प्रहरी महानिरीक्षक राजन अधिकारीलाई दिइएको छ। प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक अबि नारायण काफ्लेका अनुसार कार्कीले अधिकारीलाई निमित्त प्रहरी महानिरीक्षकको जिम्मेवारी तोकेका हुन्।
यसअघि नेपाल प्रहरीको मानवश्रोत विकास विभागमा कार्यरत अधिकारीको हालै राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा भएको छ।
सशस्त्र प्रहरी बलमा भने अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई निमित्त महानिरीक्षकको जिम्मेवारी दिइएको छ। उनी सशस्त्र प्रहरी बलको सीमा सुरक्षा विभागका प्रमुख हुन्। दुवै सङ्गठनमा निमित्तको जिम्मेवारी पाएका अधिकारीहरू अतिरिक्त महानिरीक्षकमध्ये पहिलो वरीयतामा रहेका छन्।
संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सदस्य राष्ट्रका मन्त्री, प्रहरी प्रमुख, क्षेत्रीय सङ्गठन तथा व्यावसायिक प्रहरी निकायका वरिष्ठ प्रतिनिधि सहभागी हुनेछन्। सम्मेलनमा अन्तर्राष्ट्रिय शान्ति, सुरक्षा र विकासमा राष्ट्रिय प्रहरी तथा संयुक्त राष्ट्रसङ्घीय प्रहरीको भूमिका थप प्रभावकारी बनाउने विषयमा छलफल हुनेछ।
सम्मेलनले संयुक्त राष्ट्रसङ्घीय प्रहरीको क्षमता तथा कार्यसम्पादन अभिवृद्धि, नयाँ प्रविधिको प्रयोग, अन्तर्राष्ट्रिय सहकार्य र विश्वमा देखिएका नयाँ सुरक्षा चुनौती सामना गर्न राष्ट्रिय प्रहरी सङ्गठनबीचको समन्वयमा विशेष ध्यान दिनेछ।
यसअघि यस्ता सम्मेलनमा सङ्गठन प्रमुखसँगै प्रहरी प्रधान कार्यालयको संयुक्त राष्ट्रसङ्घ शाखाका प्रमुख वा महानिरीक्षकका स्टाफ अधिकृत सहभागी हुने अभ्यास थियो। संयुक्त राष्ट्रसङ्घबाट सङ्गठन प्रमुखसहित दुई जनाका लागि निमन्त्रणा आउने गरेको बताइएको छ।
यसपटक पनि दुवै सुरक्षा सङ्गठनलाई प्रतिनिधिमण्डलका लागि निमन्त्रणा प्राप्त भएको भए पनि मन्त्रीपरिषदबाट महानिरीक्षक कार्की र पौडेलको भ्रमण मात्र स्वीकृत भएको प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीले जानकारी दिए।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनासम्बन्धी अभियानमा आफ्ना जनशक्ति परिचालन गर्दै आएका छन्। न्युयोर्कमा हुने सम्मेलनलाई नेपालले शान्ति स्थापनामा गर्दै आएको योगदान प्रस्तुत गर्ने तथा अन्तर्राष्ट्रिय प्रहरी सहकार्य र संस्थागत क्षमता विकासका विषयमा अनुभव आदानप्रदान गर्ने अवसरका रूपमा हेरिएको छ।





