जापानी युनिट ७३१ का युद्ध अपराधसम्बन्धी नयाँ अभिलेख सार्वजनिक

ड्रागन मिडिया समाचार कक्ष
दोस्रो विश्वयुद्धका क्रममा जापानी सेनाको कुख्यात युनिट ७३१ ले सञ्चालन गरेको जीवाणु युद्धसम्बन्धी यसअघि सार्वजनिक नभएका अभिलेखीय प्रमाण समेटिएको नयाँ पुस्तक चीनको उत्तरपूर्वी हेइलोङच्याङ प्रान्तमा सार्वजनिक गरिएको छ।
इतिहासकार चिन छङमिनद्वारा लिखित ‘ब्ल्याक बक्स: युनिट ७३१’ नामक पुस्तक आइतबार प्रान्तीय राजधानी हार्बिनस्थित जापानी साम्राज्यवादी सेनाको युनिट ७३१ का अपराधसम्बन्धी प्रमाण प्रदर्शनी हलमा सार्वजनिक गरिएको हो।
पुस्तकमा युनिट ७३१ को संरचना, गतिविधि, जीवाणु युद्ध अनुसन्धान, युद्धकालीन अपराध तथा त्यससँग सम्बन्धित अभिलेखीय सामग्रीलाई क्रमबद्ध रूपमा प्रस्तुत गरिएको जनाइएको छ। पुस्तक विमोचन कार्यक्रममा इतिहासकार, अनुसन्धानकर्ता र विशेषज्ञ गरी एक सयभन्दा बढी व्यक्ति सहभागी भएका थिए।
प्रदर्शनी हलका वरिष्ठ अनुसन्धानकर्ता चिनले तीन दशकभन्दा बढी समयदेखि जीवाणु युद्धको इतिहास, युनिट ७३१ का पुराना संरचनाको संरक्षण तथा ऐतिहासिक शिक्षा विस्तारमा काम गर्दै आएका छन्।
अनुसन्धानका क्रममा उनले जापानको ३० भन्दा बढी भ्रमण गर्नुका साथै युनिट ७३१ सँग सम्बन्धित पूर्वसदस्यहरूको अन्तर्वार्ता लिएका छन्। उनले चार सय घण्टाभन्दा बढी मौखिक भिडियो अभिलेख, २० हजारभन्दा बढी ऐतिहासिक वस्तु तथा तीन लाख पृष्ठभन्दा बढी मौलिक दस्तावेज सङ्कलन र संरक्षण गरेको जानकारी दिइएको छ।
लेखकका अनुसार पुस्तकको ‘ब्ल्याक बक्स’ शीर्षकले दुईवटा पक्षलाई सङ्केत गर्छ। पहिलो, युनिट ७३१ का गोप्य गतिविधि र घातक मानव परीक्षणसँग सम्बन्धित बन्द संरचना हो। दोस्रो, युद्धपछि युनिटका अपराध र अनुसन्धान विवरणलाई लिएर भएको भनिएको गोप्य राजनीतिक तथा रणनीतिक सम्झौता हो।
पुस्तकमा अमेरिकाले युनिट ७३१ ले सङ्कलन गरेको जीवाणु युद्धसम्बन्धी तथ्याङ्क प्राप्त गर्ने बदलामा त्यसका अपराधलाई पर्याप्त रूपमा सार्वजनिक र अभियोजन नगरेको दाबी प्रस्तुत गरिएको छ। यो विषयलाई लेखकले युद्धपछिको इतिहासको महत्त्वपूर्ण तर लामो समयसम्म अस्पष्ट राखिएको अध्यायका रूपमा व्याख्या गरेका छन्।
चिनियाँ अनुसन्धानकर्ताहरूले युनिट ७३१ लाई जापानी सेनाले चीनमा सञ्चालन गरेको जीवाणु युद्ध कार्यक्रमको प्रमुख केन्द्रका रूपमा अध्ययन गर्दै आएका छन्। हार्बिनस्थित प्रदर्शनी हलमा युद्धकालीन दस्तावेज, उपकरण, भवनका अवशेष र पीडितसँग सम्बन्धित प्रमाण सुरक्षित गरिएको छ।
यस वर्ष जापानी आक्रमणविरुद्ध चिनियाँ जनयुद्ध तथा विश्व फासीवादविरोधी युद्धमा विजय प्राप्त भएको ८१औँ वार्षिकोत्सव हो। यसैगरी टोकियो युद्ध अपराध न्यायाधिकरण सुरु भएको ८० वर्ष र सन् १९४९ को खाबारोभ्स्क युद्ध अपराध सुनुवाइ भएको ७७ वर्ष पूरा भएको छ।
कार्यक्रममा सहभागी विशेषज्ञहरूले नयाँ पुस्तकले दोस्रो विश्वयुद्धकालीन इतिहास, जापानी जीवाणु युद्ध र युद्ध अपराधसम्बन्धी अनुसन्धानलाई युद्ध र युद्ध अपराधसम्ब थप व्यवस्थित बनाउने बताएका छन्।
उनीहरूका अनुसार अभिलेख, मौखिक इतिहास र भौतिक प्रमाणलाई एकीकृत रूपमा सार्वजनिक गर्दा युद्धकालीन घटनाबारे तथ्यमा आधारित शिक्षा विस्तार गर्न मद्दत पुग्नेछ।
विशेषज्ञहरूले दस्तावेजमा आधारित ऐतिहासिक तथ्य स्वीकार गर्नु र युद्धकालीन अत्याचारबाट शिक्षा लिनु न्याय, मेलमिलाप तथा दीर्घकालीन विश्वशान्तिको आधार भएको बताएका छन्।





