२२ असार २०८३, सोमबार

हात्ती आक्रमणमा ज्यान गुमाएका आमा र छोराका परिवारलाई प्रतिव्यक्ति १० लाख राहत

ड्रागन मिडिया समाचार कक्ष

काठमाडौँ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले चितवनमा जङ्गली हात्तीको आक्रमणबाट ज्यान गुमाएका आमा र छोराका परिवारलाई प्रतिव्यक्ति १० लाख रुपैयाँका दरले राहत उपलब्ध गराइने बताएकी छन्।

भरतपुर महानगरपालिका वडा नम्बर २३ स्थित बेलहट्टामा शनिबार राति जङ्गली हात्तीको आक्रमणबाट २५ वर्षीया आशिका बोटे र उनका चार वर्षीय छोरा भरत बोटेको मृत्यु भएको थियो। उनीहरू घरमा सुतिरहेका बेला हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

घटनापछि आइतबार बेलहट्टा पुगेकी मन्त्री गौतमले पीडित परिवारलाई भेटेर सान्त्वना दिँदै सरकारले नियमअनुसार राहत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिन्।

“पैसाले मानिसको ज्यान फर्काउन सकिँदैन, तर परिवारलाई केही सहजीकरण गर्न नियमअनुसार प्रतिव्यक्ति १० लाख रुपैयाँका दरले राहत उपलब्ध गराइनेछ,” उनले भनिन्, “आवश्यक प्रक्रिया पूरा गरी असार २५ गतेभित्र रकम हस्तान्तरण गर्ने तयारी भइरहेको छ।”

दुई जनाको मृत्यु भएकाले परिवारले नियमअनुसार कुल २० लाख रुपैयाँ राहत प्राप्त गर्नेछ।

मन्त्री गौतमले राष्ट्रिय निकुञ्ज तथा वन क्षेत्र आसपासका बस्तीमा वर्षौंदेखि देखिँदै आएको मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका लागि तत्कालीन र दीर्घकालीन दुवै प्रकारका उपाय अपनाइने बताइन्।

उनले वन्यजन्तुको गतिविधि पहिचान र निगरानी गर्न आधुनिक प्रविधिमा आधारित प्रणाली प्रयोग गर्नुपर्ने आवश्यकता औँल्याइन्। तत्कालका लागि वन्यजन्तुको गतिविधि नियमित रूपमा निगरानी गर्न र जोखिमयुक्त क्षेत्रमा आवश्यक नियन्त्रणात्मक उपाय अपनाउन चितवन राष्ट्रिय निकुञ्ज प्रशासनलाई निर्देशन दिइएको उनको भनाइ थियो।

“राष्ट्रिय निकुञ्ज क्षेत्र आसपास वन्यजन्तुको आक्रमणका कारण मानव र वन्यजन्तुबीचको द्वन्द्व वर्षौंदेखि समस्याका रूपमा रहेको छ,” मन्त्री गौतमले भनिन्, “प्रविधियुक्त संयन्त्रमार्फत वन्यजन्तुको गतिविधिको निगरानी र पहिचान गर्न निकुञ्ज प्रशासनलाई निर्देशन दिइसकेको छु।”

उनले निकुञ्ज आसपासका बस्तीमा रहेका कमजोर घर तथा भौतिक संरचनाका कारण वन्यजन्तुको आक्रमण हुँदा मानवीय क्षति बढ्ने गरेको बताइन्। हात्तीको आक्रमण थेग्न नसक्ने कच्ची तथा कमजोर संरचनाको सट्टा सुरक्षित आवास निर्माणका लागि सरकारले आवश्यक पहल गर्ने उनको भनाइ थियो।

मन्त्री गौतमका अनुसार निकुञ्ज आसपासका जोखिमयुक्त क्षेत्रमा बलिया र सुरक्षित घर निर्माण गर्न विपद व्यवस्थापन कोष परिचालन गर्ने सम्भावनाबारे प्रमुख जिल्ला अधिकारी र सम्बन्धित निकायसँग समन्वय गरिनेछ। उनले समग्र गाउँवासीको सुरक्षाका लागि एकीकृत आवास वा सुरक्षित बस्ती विकाससम्बन्धी योजना आवश्यक रहेको पनि बताइन्।

पीडित परिवारलाई भेटेपछि मन्त्री गौतमले चितवन राष्ट्रिय निकुञ्जको कसरा कार्यालयमा सुरक्षा निकाय, निकुञ्ज प्रशासन, स्थानीय तहका प्रतिनिधि, सरोकारवाला संस्था र स्थानीयवासीसँग छलफल गरेकी थिइन्।

छलफलमा सहभागी स्थानीयवासीले निकुञ्ज, मध्यवर्ती क्षेत्र तथा सामुदायिक वन आसपासका बस्ती जङ्गली जनावरको आक्रमणको उच्च जोखिममा रहेको बताएका थिए। उनीहरूले वन्यजन्तु नियन्त्रण, सुरक्षित आवास निर्माण तथा क्षतिपूर्ति प्राप्त गर्ने कानुनी र प्राविधिक प्रक्रिया जटिल रहेको भन्दै सहजीकरण गर्न सरकारसँग आग्रह गरेका थिए।

मन्त्री गौतमले वन्यजन्तुको संरक्षण र मानव जीवनको सुरक्षा सँगसँगै अघि बढाउनुपर्ने बताउँदै स्थानीय तह, प्रदेश र सङ्घीय सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको उल्लेख गरिन्।

घटनाको रात हात्तीले घरमा प्रवेश गरी आक्रमण गर्न थालेपछि आशिकाका श्रीमान पूर्ण बोटेले हात्ती धपाउन आगो बाल्ने प्रयास गरेका थिए। त्यस क्रममा उनीहरूको कच्ची घरमा आगलागी समेत भएको थियो। स्थानीयवासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

घटनापछि स्थानीय जनप्रतिनिधि, सुरक्षा निकाय र निकुञ्ज प्रशासनबीच जङ्गली हात्ती नियन्त्रणमा लिन आवश्यक पहल गर्ने, पीडित परिवारलाई राहत उपलब्ध गराउने, क्षतिग्रस्त घर पुनर्निर्माणमा सहयोग गर्ने र मानव तथा वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका तत्कालीन उपाय लागू गर्ने सहमति भएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button