२२ असार २०८३, सोमबार

पोखराबाट फ्लाई दुबईको दैनिक उडान सुरु हुँदै, पर्यटन व्यवसायी उत्साहित

ड्रागन मिडिया समाचार कक्ष

पोखरा। फ्लाई दुबईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित भएका छन्।

दुबईस्थित विमान सेवा कम्पनी फ्लाई दुबई र रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल, रेवान पोखराका पदाधिकारीबीच आइतबार पोखरामा भएको छलफलमा नयाँ हवाई सेवाबाट पर्यटन प्रवर्द्धन, यात्रु सहजीकरण र व्यावसायिक सहकार्य विस्तार गर्ने विषयमा विचार आदानप्रदान भएको हो।

फ्लाई दुबईले आगामी सेप्टेम्बर २३ देखि दुबई अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबीच दैनिक सीधा उडान सञ्चालन गर्ने घोषणा गरिसकेको छ। यो पोखरामा नियमित सीधा उडान सञ्चालन गर्ने संयुक्त अरब इमिरेट्सको पहिलो विमान सेवा कम्पनी हुनेछ।

फ्लाई दुबईका प्रतिनिधिले पोखराबाट दुबई हुँदै विश्वका विभिन्न गन्तव्यमा यात्रा गर्न सकिने जानकारी दिएका थिए। फ्लाई दुबईको आफ्नै सञ्जाल ५८ देशका १४० भन्दा बढी गन्तव्यमा फैलिएको छ। एमिरेट्ससँगको कोडसेयर तथा व्यावसायिक साझेदारीमार्फत यात्रुले १०३ देशका २४५ गन्तव्यसम्म सम्पर्क उडानको सुविधा प्राप्त गर्न सक्नेछन्।

यस व्यवस्थाबाट पोखराबाट विदेश जाने यात्रुले दुबईलाई ट्रान्जिट केन्द्रका रूपमा प्रयोग गरी मध्यपूर्व, युरोप, अफ्रिका, मध्य एसिया र अन्य क्षेत्रमा यात्रा गर्न सक्नेछन्। त्यसैगरी विभिन्न देशबाट दुबई हुँदै आउने पर्यटकले काठमाडौँ नगई सीधै पोखरा पुग्न सक्ने भएकाले यस क्षेत्रको पर्यटन व्यवसायमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। फ्लाई दुबईले नयाँ मार्गले खाडी क्षेत्र, मध्यपूर्व, युरोप तथा अन्य मुलुकबाट आउने यात्रुका लागि सुविधाजनक सम्पर्क उपलब्ध गराउने जनाएको छ।

रेवान पोखराका महासचिव वीरेन्द्र शेरचनले फ्लाई दुबईका प्रतिनिधिसँगको छलफलपछि पोखराका पर्यटन व्यवसायी थप उत्साहित भएको बताए।

उनका अनुसार फ्लाई दुबईमार्फत पोखरा आउने विदेशी पर्यटकलाई होटल, रेस्टुरेन्ट, यातायात तथा अन्य पर्यटन सेवामा सहुलियत र सहज पहुँच उपलब्ध गराउन सकिने सम्भावनाबारे छलफल भएको थियो।

दुवै पक्षबीच पोखराको पर्यटन प्रवर्द्धन, पारस्परिक सहकार्य अभिवृद्धि र आगामी दिनमा संयुक्त रूपमा सञ्चालन गर्न सकिने कार्यक्रमबारे सकारात्मक विचार आदानप्रदान भएको शेरचनले जानकारी दिए।

उनले पोखरामा भित्रिने पर्यटकको बसाइ लम्ब्याउने, स्थानीय पर्यटन उत्पादनको प्रचार गर्ने र विमान सेवा कम्पनीसँग समन्वय गरी विशेष पर्यटन प्याकेज विकास गर्न थप छलफल आवश्यक रहेको बताए।

फ्लाई दुबईको पोखरा उडान दुबई अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल ३ बाट सञ्चालन हुनेछ। पोखराबाट उडान साँझ ७ बजेर १५ मिनेटमा प्रस्थान गरी स्थानीय समयअनुसार राति १० बजे दुबई पुग्ने तालिका सार्वजनिक गरिएको छ। यात्रुले एउटै टिकट, गन्तव्यसम्म सामान पठाउने सुविधा र संयुक्त उडान तालिकाको लाभ लिन सक्ने एयरलाइन्सले जनाएको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२३ जनवरी १ मा सञ्चालनमा आएको भए पनि नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडान हुन नसक्दा स्थानीय पर्यटन व्यवसायीले निरन्तर चिन्ता व्यक्त गर्दै आएका थिए। यसअघि विमानस्थलबाट चीन र भुटानका लागि चार्टर तथा भारतका लागि आपत्कालीन उडान भएका थिए। फ्लाई दुबईको दैनिक सेवाले विमानस्थल सञ्चालनमा आएको तीन वर्षभन्दा बढी समयपछि नियमित अन्तर्राष्ट्रिय हवाई सम्पर्कको आधार तयार गर्नेछ।

पोखरा अन्नपूर्ण क्षेत्रको पदयात्रा, पर्वतारोहण, साहसिक पर्यटन, ताल, प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदाका कारण नेपालको प्रमुख पर्यटकीय गन्तव्य मानिन्छ। नियमित अन्तर्राष्ट्रिय उडानले पश्चिम नेपालको पर्यटन, व्यापार, लगानी र रोजगारीमा समेत नयाँ अवसर सिर्जना गर्ने स्थानीय व्यवसायीको अपेक्षा छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button