युवामा लगानी बढाएर अर्थतन्त्र सुदृढ बनाउन चेम्बरको जोड

ड्रागन मिडिया समाचार कक्ष
काठमाडौँ। नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी तथा युवा उद्यमीहरूले मुलुकको अर्थतन्त्र सुदृढ बनाउन युवामा लगानी, नवप्रवर्तन र उद्यमशीलता विकासलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।
नेपाल चेम्बर अफ कमर्सअन्तर्गतको नेपाल युथ चेम्बरले आयोजना गरेको युवा उद्यमशीलता विकाससम्बन्धी अन्तर्क्रियामा सहभागीहरूले आर्थिक पुनरुत्थान, लगानी विस्तार, रोजगारी सिर्जना र नयाँ व्यावसायिक क्षेत्रको विकासमा युवाको भूमिका महत्त्वपूर्ण हुने धारणा राखेका हुन्।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले युवाले सकारात्मक सोच, आपसी समन्वय र क्षमता अभिवृद्धिमा विशेष ध्यान दिनुपर्ने बताए।
विश्व अर्थतन्त्र तीव्र परिवर्तनको चरणमा रहेको उल्लेख गर्दै उनले हरित अर्थतन्त्र, डिजिटल रूपान्तरण, कृत्रिम बुद्धिमत्ता, ज्ञानमा आधारित उद्योग र नवप्रवर्तनले व्यावसायिक गतिविधिको स्वरूप परिवर्तन गरिरहेको बताए। परिवर्तित विश्व अर्थतन्त्रको नेतृत्व गर्न सक्ने दक्ष र जिम्मेवार युवाशक्ति तयार गर्नुपर्ने उनको भनाइ थियो।
अग्रवालले अन्तर्राष्ट्रिय व्यावसायिक सञ्जाल विस्तार, स्वदेशी तथा विदेशी लगानी आकर्षण र रोजगारी सिर्जनामा युवा उद्यमीले अग्रसर भूमिका निर्वाह गर्नुपर्ने बताए। युवामा गरिने लगानीले दीर्घकालीन रूपमा राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुर्याउने उनले विश्वास व्यक्त गरे।
नेपालमा ऊर्जाशील, प्रतिभाशाली र महत्त्वाकाङ्क्षी युवा जनशक्ति रहेको उल्लेख गर्दै उनले उद्यमशीलता र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने अनुकूल वातावरण निर्माण गर्न सके युवाशक्तिलाई आर्थिक समृद्धिको आधार बनाउन सकिने बताए।
चेम्बरको हिरक जयन्ती मूल समारोह समितिका संयोजक तथा पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठले युवाले नवीन सोचसहित सम्भावना भएका नयाँ व्यावसायिक क्षेत्र पहिचान गरेर उद्यमशीलतामा अघि बढ्नुपर्ने बताए।
विदेशका युथ चेम्बरहरूसँग सम्बन्ध विस्तार गरी नयाँ प्रविधि, ज्ञान, अनुभव र सफल व्यावसायिक अभ्यास आदानप्रदान गर्न सके नेपाली उद्यमीले अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तार गर्न सक्ने उनको भनाइ थियो।
नेपाल चेम्बर अफ कमर्स निजी क्षेत्रको पहिलो संस्था भएको उल्लेख गर्दै श्रेष्ठले यसको ७५ वर्षे यात्रासँग जोडिनु गर्वको विषय भएको बताए। व्यापार तथा उद्यममा जोखिम रहने भए पनि त्यसबाट सिर्जना हुने उत्पादन, रोजगारी र आर्थिक गतिविधिले मुलुकको समग्र अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्याउने उनले उल्लेख गरे।
चेम्बरका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले नेपालमा आर्थिक सम्भावना भएका नयाँ क्षेत्र पहिचान गरी युवाले अर्थतन्त्रमा नवीनता भित्र्याउनुपर्ने बताए।
सरकारले उपलब्ध गराएका नवप्रवर्तन तथा उद्यमशीलतासम्बन्धी नीतिगत अवसरको अधिकतम उपयोग गर्दै सिर्जनशील सोचका साथ व्यवसाय सञ्चालन गर्न उनले युवालाई आग्रह गरे। परम्परागत व्यावसायिक क्षेत्रसँगै प्रविधि, कृषि प्रशोधन, पर्यटन, ऊर्जा र निर्यातमुखी उद्योगमा नयाँ सम्भावना खोज्नुपर्ने उनको भनाइ थियो।
नेपाल युथ चेम्बरका अध्यक्ष दिपेशरत्न तुलाधरले सफल उद्यमको यात्रा सशक्त विचार, सक्षम टोली र जिम्मेवार नेतृत्वबाट सुरु हुने बताए। उनले युवा उद्यमीबीच अनुभव आदानप्रदान, सहकार्य र व्यावसायिक सञ्जाल विस्तार गर्न नेपाल युथ चेम्बरले सक्रिय भूमिका निर्वाह गर्ने उल्लेख गरे।
कार्यक्रममा सहभागी व्यवसायी तथा युवा उद्यमीहरूले वित्तीय पहुँच, नीतिगत सहजीकरण, शीप विकास, प्रविधिको प्रयोग र बजारसँगको सम्पर्क विस्तार गर्न सके नेपालमा युवा उद्यमशीलताको बलियो आधार निर्माण गर्न सकिने धारणा राखेका थिए।





