अन्तरजातीय विवाह गरेका २५ जोडीलाई मालिका गाउँपालिकाको सम्मान

ड्रागन मिडिया समाचार कक्ष
म्याग्दीको मालिका गाउँपालिकाले दलित समुदायसँग अन्तरजातीय विवाह गरेका २५ जोडीलाई नगदसहित सम्मान गरेको छ।
लक्षित समुदाय कार्यक्रमअन्तर्गत विनियोजित बजेटबाट आइतबार आयोजित कार्यक्रममा प्रत्येक जोडीलाई तीन हजार ५०० रुपैयाँ नगद प्रदान गरी सम्मान गरिएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले समाजमा जातीय विभेद अझै कायम रहेकाले अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्दै विभेद अन्त्यको सन्देश प्रवाह गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए।
उनले सदियौँदेखि कायम जातीय विभेद अन्त्य गर्न समाजका सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिए। पालिकाका सातवटै वडाबाट दलित समुदायसँग अन्तरजातीय विवाह गरेका ज्येष्ठ नागरिकदेखि युवा जोडीसम्मलाई सम्मान गरिएको उनले जानकारी दिए।
गाउँपालिकाको केन्द्र दरवाङमा आयोजित कार्यक्रममा अध्यक्ष गर्बुजा, उपाध्यक्ष लक्ष्मीदेवी घर्ती पुन, प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र ढकाल, वडाध्यक्ष उदयबहादुर बुढाथोकी र पथबहादुर रोका, कार्यपालिका सदस्य प्रतिक्षा रसाइली र दलबहादुर खड्काथोकी तथा वडा नम्बर १ का कार्यवाहक वडाध्यक्ष मानसिंह सापकोटालगायतले जोडीहरूलाई सम्मान गरेका थिए।
कार्यपालिका सदस्य रसाइलीले अन्तरजातीय विवाहपछि विभिन्न सामाजिक विभेद र अदृश्य हिंसाको सामना गरिरहेका जोडीलाई सम्मान गरिएको बताइन्। गाउँपालिकाले अन्तरजातीय विवाह गरेका जोडीलाई सम्मान गर्ने कार्यक्रम पहिलो पटक सञ्चालन गरेको पनि उनले जानकारी दिइन्।
गाउँपालिकाले यस कार्यक्रमबाट जातीय विभेदविरुद्ध सामाजिक चेतना विस्तार हुनुका साथै समानता, सम्मान र सामाजिक सद्भाव प्रवर्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।





