उपत्यकामा २४ घण्टामै २,१७६ सवारीचालक कारबाहीमा

ड्रागन मिडिया समाचार कक्ष
काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लंघन गर्ने दुई हजार १७६ जना चालक ट्राफिक प्रहरीको कारबाहीमा परेका छन्।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशप्रसाद सुवेदीका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने ८१, नियमविपरीत राइड सेयरिङ गर्ने १०१, ट्राफिक संकेत बत्ती उल्लंघन गर्ने १५९ र तीव्र गतिमा सवारी चलाउने २०२ जना कारबाहीमा परेका हुन्।
यसैगरी लेन अनुशासन पालना नगर्ने ९२, निषेधित क्षेत्रमा हर्न बजाउने ११०, सडक तथा फुटपाथमा जथाभावी पार्किङ गर्ने ११० र एकतर्फी सडकको नियम उल्लंघन गर्ने ६६ जना चालकलाई कारबाही गरिएको कार्यालयले जनाएको छ।
अन्य सवारी नियम उल्लंघन गर्ने एक हजार ५५ जना पनि कारबाहीमा परेका छन्। ट्राफिक प्रहरीले उक्त कारबाहीबाट १० लाख ६२ हजार रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ।





