लाङ्टाङमा पर्यटक घट्दा राजस्व सङ्कलन प्रभावित

ड्रागन मिडिया समाचार कक्ष
लाङ्टाङ राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षमा पर्यटक आगमन घटेसँगै राजस्व सङ्कलनमा पनि कमी आएको छ। निकुञ्ज प्रशासनले स्थानीय पर्यटन प्रवर्धन, संरक्षण र समुदायको आयआर्जनलाई एकसाथ अघि बढाउने रणनीतिमा जोड दिएको छ।
निकुञ्जको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा करिब ५६ हजार पर्यटकले लाङ्टाङ क्षेत्र भ्रमण गरेका थिए। चालु आर्थिक वर्षमा हालसम्म ५० हजार ३६० पर्यटक निकुञ्ज पुगेका छन्।
तीमध्ये ३९ हजार ११ जना नेपाली, दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कका सदस्य राष्ट्रबाट आएका ७८८ जना र अन्य मुलुकका १० हजार ५६१ जना छन्।
पर्यटक आगमनमा आएको कमीको प्रभाव निकुञ्जको आम्दानीमा समेत देखिएको छ। गत आर्थिक वर्षमा पाँच करोड ७७ लाख रुपैयाँ राजस्व सङ्कलन भएको थियो। चालु आर्थिक वर्षमा हालसम्म चार करोड २८ लाख २२ हजार ७५६ रुपैयाँ सङ्कलन भएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए।
नेपालका प्रमुख हिमाली पर्यटकीय गन्तव्यमध्ये लाङ्टाङ क्षेत्र प्राकृतिक सौन्दर्य, हिमाली पदयात्रा र जैविक विविधताका कारण प्रसिद्ध छ। यसै क्षेत्रमा रहेको गोसाइँकुण्ड धार्मिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्ण गन्तव्य हो।
पर्यटनबाट प्राप्त राजस्व निकुञ्ज संरक्षण, वन्यजन्तु तथा जैविक विविधता व्यवस्थापन र स्थानीय समुदायको जीविकोपार्जनमा उपयोग हुँदै आएको छ। पर्यटक सङ्ख्या घट्दा संरक्षणसँग सम्बन्धित कार्यक्रम तथा स्थानीय पर्यटन व्यवसायमा पनि असर पर्न सक्ने सरोकारवालाहरूको भनाइ छ।
निकुञ्ज प्रशासनले आन्तरिक तथा विदेशी पर्यटक आकर्षित गर्न स्थानीय तह, पर्यटन व्यवसायी र समुदायसँग समन्वय गरी पदमार्ग, धार्मिक पर्यटन र प्रकृतिमा आधारित पर्यटनको प्रचारप्रसार बढाउनुपर्ने आवश्यकता औँल्याएको छ।





