२२ असार २०८३, सोमबार

मुन्दुम पदमार्गमा लालीगुराँस रोपण, पर्यटन र वातावरण संरक्षणमा जोड

ड्रागन मिडिया समाचार कक्ष

सगरमाथा वृक्षरोपण महाभियानअन्तर्गत भोजपुरको पर्यटकीय तथा धार्मिक महत्त्वको मुन्दुम पदमार्ग क्षेत्रमा लालीगुराँसका बिरुवा रोपिएको छ।

हरियाली प्रवर्धन, वातावरण संरक्षण र पर्यटन विकासमा सहयोग पुर्‍याउने उद्देश्यले आइतबार आयोजित कार्यक्रममा पहिलो चरणमा एक सय बिरुवा रोपिएको हो।

गाउँपालिका उपाध्यक्ष रमादेवी राईले पछिल्लो समय मुन्दुम पदमार्ग आन्तरिक तथा विदेशी पर्यटकको प्रमुख आकर्षण बन्दै गएको बताइन्। पदमार्गलाई थप हरियालीयुक्त, आकर्षक र वातावरणमैत्री बनाउने लक्ष्यसहित लालीगुराँस रोपिएको उनले जानकारी दिइन्।

नेपालको राष्ट्रिय फूलसमेत रहेको लालीगुराँसको संरक्षण र विस्तारले जैविक विविधता जोगाउनुका साथै स्थानीय सांस्कृतिक पहिचानलाई सुदृढ बनाउन सहयोग पुग्ने उपाध्यक्ष राईको भनाइ छ।

वृक्षरोपण कार्यक्रममा गाउँपालिका अध्यक्ष सरोज बस्नेत, उपाध्यक्ष राई, प्रमुख जिल्ला अधिकारी राजन पौडेल, डिभिजन वन कार्यालय भोजपुरका प्रमुख खुद्रुस मिया तथा विभिन्न सरकारी निकाय र स्थानीय समुदायका प्रतिनिधिको सहभागिता थियो। सहभागीहरूले संयुक्त रूपमा बिरुवा रोपेर अभियानको शुभारम्भ गरेका थिए।

डिभिजन वन कार्यालय भोजपुरले अभियानका लागि पाँच सय लालीगुराँसका बिरुवा उपलब्ध गराएको छ। कार्यालय प्रमुख मियाका अनुसार पहिलो चरणमा एक सय बिरुवा रोपिएको र बाँकी चार सय बिरुवा गाउँपालिकाको समन्वय तथा स्थानीय समुदायको सहभागितामा चखेवा क्षेत्रमा चरणबद्ध रूपमा रोपिनेछ।

गाउँपालिका अध्यक्ष बस्नेतले वातावरण संरक्षण, जलवायु परिवर्तनका असर न्यूनीकरण र जैविक विविधता जोगाउन वृक्षरोपण महत्त्वपूर्ण हुने बताए। उनले रोपिएका बिरुवाको दीर्घकालीन संरक्षण र व्यवस्थापनका लागि स्थानीय समुदायको सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड दिए।

प्रमुख जिल्ला अधिकारी पौडेलले यस्ता अभियानले स्थानीय तह, वन कार्यालय र समुदायबीचको सहकार्यलाई थप सुदृढ बनाउने बताए। दिगो विकासका लागि सरकारी निकाय र समुदायको संयुक्त प्रयास अपरिहार्य रहेको उनको भनाइ थियो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button