२२ असार २०८३, सोमबार

शुक्लाफाँटामा स्वीकृतिबिना घुम्ती व्यापार गर्न रोक


ड्रागन मिडिया समाचार कक्ष

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले पूर्वस्वीकृतिबिना घुम्ती व्यापार तथा व्यवसाय सञ्चालन गर्न नपाइने व्यवस्था कडाइका साथ कार्यान्वयन गर्ने भएको छ।

नगरपालिकाको क्षेत्राधिकारभित्र मोटरसाइकल, टाँगा, रिक्सा, मिनी ट्रकलगायत ढुवानी तथा सवारीसाधन प्रयोग गरी स्वीकृतिबिना व्यापार गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने नगरपालिकाले जनाएको छ।

प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टका अनुसार अनधिकृत रूपमा सवारीसाधनमार्फत बजार तथा ग्रामीण क्षेत्रमा घुम्ती व्यापार भइरहेको गुनासो बढेपछि निगरानी र नियमन कडा पारिएको हो।

नगरपालिकाका अनुसार पूर्वस्वीकृतिबिना घुम्ती व्यापार गर्नेमा अधिकांश भारतीय नागरिक रहेको पाइएको छ। अनुमति नलिई व्यापार गरेको भेटिएमा सम्बन्धित व्यक्तिविरुद्ध कानुनी प्रक्रिया अघि बढाइने विष्टले स्पष्ट पारे।

नगरपालिकाले सडक क्षेत्र सुरक्षित र जोखिममुक्त बनाउन पनि विशेष अभियान सुरु गरेको छ। स्थानीय सडक, सडक किनारा र अन्य सार्वजनिक स्थानमा पशुचौपाया बाँध्ने तथा बालुवा, गिट्टी, ढुङ्गा, काठ, इँटा र माटोलगायत निर्माण सामग्री थुपार्ने कार्य निरुत्साहित गरिने भएको छ।

पूर्वस्वीकृतिबिना सडक खन्ने, निर्माण सामग्री राख्ने वा अन्य गतिविधिबाट सडकमा क्षति पुर्‍याउने कार्यले पैदलयात्री तथा सवारीसाधनको आवागमनमा अवरोध पुग्नुका साथै दुर्घटनाको जोखिम बढ्ने नगरपालिकाले जनाएको छ।

सडक क्षेत्रमा अवरोध सिर्जना गर्ने वा क्षति पुर्‍याउने कार्य गरेको पाइएमा नगरपालिकाको सडक मापदण्ड कार्यविधि, २०७६ बमोजिम कारबाही गरिने प्रमुख प्रशासकीय अधिकृत विष्टले बताए।

नगरपालिकाले सडक अतिक्रमण हटाउन, अनधिकृत व्यापार नियन्त्रण गर्न र सर्वसाधारणलाई सचेत बनाउन नगर प्रहरी परिचालन गरी नियमित अनुगमन तथा सचेतना कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button