तत्काल पार्टी एकता सम्भव छैन : ओली

ड्रागन मिडिया समाचार कक्ष
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वामपन्थी शक्तिबीच तत्काल पार्टी एकता सम्भव नरहेको बताएका छन्।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा मंगलबार आयोजित कार्यक्रममा उनले वामपन्थी एकताका नाममा तत्काल विभिन्न पार्टीबीच एकीकरण हुने अवस्था नरहेको स्पष्ट पारे। यद्यपि एमालेमा आउन चाहनेहरूका लागि पार्टीको ढोका सधैँ खुला रहेको उनले बताए।
एमालेले निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका विषयमा सुझाव संकलन गर्ने क्रममा केन्द्रीय सल्लाहकार परिषद्का सदस्यहरूसँग छलफल गरेको हो।
कार्यक्रममा ओलीले नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि प्रधानमन्त्री बालेन्द्र शाहको प्रशंसा गर्न केन्द्रित भएको आरोपसमेत लगाए।
उनले भने, ‘प्रचण्डजी बालेनको भक्तिगानमा लाग्या छन्।’
एमालेले यसअघि विभिन्न प्रदेश तथा मातहतका कमिटीबाट निर्वाचन समीक्षा र पार्टी पुनर्गठनसम्बन्धी सुझाव संकलन गरिसकेको छ।
वरिष्ठ उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा गठित कार्यदलले सुझाव संकलनको काम गरिरहेको छ। मंगलबार अन्तिम चरणको सुझाव संकलन सम्पन्न गरेको कार्यदलले असार २५ गते प्रतिवेदन लेखनका लागि बैठक बस्ने कार्यसूची तय गरेको छ।





