२४ असार २०८३, बुधबार

भलभल अष्टमीमा प्रधानमन्त्री बालेनद्वारा नवदुर्गा द्योछें मन्दिरको दर्शन

ड्रागन मिडिया समाचार कक्ष

प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले मंगलबार भक्तपुरको कमलविनायकस्थित ऐतिहासिक नवदुर्गा द्योछें मन्दिर पुगेर दर्शन तथा अवलोकन गरेका छन्।

नवदुर्गा देवगण जात्राको वार्षिक धार्मिक तथा सांस्कृतिक चक्र समापन हुने भलभल अष्टमीका अवसरमा प्रधानमन्त्री शाह मन्दिर पुगेका हुन्। त्यसक्रममा उनले मन्दिर परिसर, नवदुर्गा देवगणको परम्परा तथा जात्रासँग सम्बन्धित सांस्कृतिक गतिविधिको अवलोकन गरेका थिए।

नवदुर्गा जात्रा व्यवस्थापन समितिका पूर्वअध्यक्ष नारायण वनमालाले प्रधानमन्त्री शाहलाई मन्दिरको ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्त्वबारे जानकारी गराएका थिए। उनले नवदुर्गा देवगण जात्राको परम्परा, विभिन्न पर्वमा प्रदर्शन गरिने नाच तथा भलभल अष्टमीमा सम्पन्न गरिने विशेष अनुष्ठानबारे पनि जानकारी दिएका थिए।

भलभल अष्टमीलाई भक्तपुरको नवदुर्गा देवगण जात्राको अन्तिम दिनका रूपमा लिइन्छ। यस दिन देवगणले वर्षको अन्तिम नाच प्रदर्शन गर्ने र उनीहरूले धारण गरेका मुकुन्डोलाई ब्रह्मायणी क्षेत्रमा लगेर विधिपूर्वक विसर्जन तथा दाहसंस्कार गर्ने परम्परा रहेको छ। यस अनुष्ठानलाई नवदुर्गा देवगणको प्रतीकात्मक देहावसानका रूपमा मानिने गरिएको छ।

मंगलबार साँझसम्म नवदुर्गा देवगणले यस वर्षको अन्तिम नाच प्रदर्शन गरेका थिए भने स्थानीय बासिन्दाले मन्दिरमा पूजा तथा धार्मिक अनुष्ठान जारी राखेका थिए। सोही क्रममा प्रधानमन्त्री शाह मन्दिर पुगेका हुन्।

प्रधानमन्त्री शाह मन्दिरबाट फर्किएपछि नवदुर्गा देवगणको ब्रह्मायणी यात्रा शुरु भएको थियो। परम्पराअनुसार देवगणले लगाएका मुकुन्डोलाई ब्रह्मायणी क्षेत्रमा पुर्‍याएर जलाइएको थियो।

नवदुर्गा देवगण जात्रा भक्तपुरको प्रमुख जीवित सांस्कृतिक परम्परामध्ये एक मानिन्छ। घण्टाकर्ण चतुर्दशीका अवसरमा नयाँ मुकुन्डो तयार गरी प्राणप्रतिष्ठा गरेपछि देवगणको धार्मिक तथा सांस्कृतिक यात्रा प्रारम्भ हुने र भलभल अष्टमीमा प्रतीकात्मक अन्त्येष्टिसँगै वार्षिक जात्रा चक्र पूरा हुने परम्परा छ। दशैँका समयमा नयाँ मुकुन्डो निर्माण र धार्मिक विधिसहित देवगणको पुनर्जन्म हुने जनविश्वास रहिआएको छ।

प्रधानमन्त्री शाहको भ्रमणलाई स्थानीय समुदायले भक्तपुरको अमूर्त सांस्कृतिक सम्पदा, परम्परागत नाच तथा धार्मिक अनुष्ठानप्रतिको चासोका रूपमा लिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button