ट्राफिक जरिबाना नतिर्ने २ लाख ६१ हजार सवारी साधनको यातायात सेवा रोक्का

ड्रागन मिडिया समाचार कक्ष
ट्राफिक कारबाहीमा परेर लामो समयसम्म जरिबाना नबुझाएका दुई लाख ६१ हजारभन्दा बढी सवारी साधनले यातायात व्यवस्था कार्यालयबाट प्रदान हुने सेवा नपाउने भएका छन्।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जरिबाना नतिर्ने सवारी चालक तथा सवारी साधनको विवरण यातायात व्यवस्था कार्यालयमा पठाएपछि सम्बन्धित अभिलेखमा सेवा रोक्का गरिएको हो।
सेवा रोक्का भएपछि जरिबाना बाँकी रहेका सवारी साधनको किनबेच, नामसारी तथा यातायात व्यवस्था कार्यालयबाट उपलब्ध हुने अन्य सेवा लिन समस्या हुनेछ। नयाँ सेवा लिनुअघि ट्राफिक कारबाहीबापतको जरिबाना अनिवार्य रूपमा बुझाउनुपर्ने यातायात व्यवस्था कार्यालयले जनाएको छ।
उपत्यका ट्राफिक प्रहरीले अनलाइन प्रणालीमार्फत ट्राफिक कारबाहीको अभिलेख राख्न शुरु गरेयता जरिबाना नबुझाउने दुई लाख ६१ हजार सवारी चालक तथा सवारी साधनको विवरण सम्बन्धित यातायात कार्यालयमा पठाएको छ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार कारबाहीमा परेका सवारी चालकले लामो समयसम्म जरिबाना नतिरेको पाइएपछि आवश्यक प्रक्रियाका लागि विवरण यातायात व्यवस्था विभाग र मातहतका कार्यालयमा पठाइएको हो।
“ट्राफिक कारबाहीमा परेका सवारी चालकले लामो समयदेखि जरिबाना नबुझाएको पाइएपछि हामीले विवरण यातायात कार्यालयमा पठाएका थियौँ। कार्यालयले उनीहरूले पाउने सेवा रोक्का गरेको हो,” सुवेदीले भने।
ट्राफिक प्रहरीले जरिबाना नबुझाएका सवारीधनी तथा चालकलाई मोबाइल सन्देशमार्फत पनि जानकारी गराउन थालेको छ। सेवा पुनः प्राप्त गर्न सम्बन्धित व्यक्तिले बाँकी जरिबाना तिरेर अभिलेख अद्यावधिक गराउनुपर्नेछ।
ट्राफिक नियम उल्लङ्घन गरेपछि जारी गरिएको कारबाहीको जरिबाना नतिरी लामो समयसम्म बेवास्ता गर्ने प्रवृत्ति नियन्त्रण गर्न यातायात सेवासँग कारबाहीको विवरण जोडिएको हो। यसबाट ट्राफिक जरिबाना असुलीलाई प्रभावकारी बनाउनुका साथै सडक अनुशासन कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।





