२४ असार २०८३, बुधबार

कोट वा सांस्कृतिक पहिरन र लोगो नलगाउने सांसदले रोष्ट्रम प्रयोग गर्न नपाउने

ड्रागन मिडिया समाचार कक्ष

प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले तोकिएको मर्यादित पोशाक र सांसदको प्रतीक चिन्ह नलगाउने सदस्यलाई अबदेखि रोष्ट्रम प्रयोग गर्न नदिने बताएका छन्।

प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख अर्यालले केही सांसद बैठकमा अमर्यादित ढङ्गले प्रस्तुत हुन थालेको भन्दै संसदीय दलका प्रमुख सचेतक र सचेतकहरूलाई पोशाक तथा सदनको अनुशासनसम्बन्धी व्यवस्था कडाइका साथ पालना गराउन आग्रह गरेका हुन्।

“कोही सांसद कोट फुकालेर कुर्सीमा झुण्ड्याउनुहुन्छ, कोही कोट र लोगो लगाउनुहुन्न,” सभामुख अर्यालले बैठकमा भने, “अबदेखि सांस्कृतिक पहिरन नलगाउने वा कोट नलगाउनेलाई रोष्ट्रममा जान दिन्नँ।”

प्रतिनिधि सभा नियमावलीले सांसदले बैठकमा मर्यादित पोशाक लगाउनुपर्ने व्यवस्था गरेको छ। सदस्यले लगाउने पोशाक कार्यव्यवस्था परामर्श समितिको परामर्शमा सभामुखले तोक्न सक्ने व्यवस्था छ। सांसदले औपचारिक पोशाकका अतिरिक्त मौलिक संस्कृति, परम्परा वा पहिचान झल्किने मर्यादित सांस्कृतिक पहिरन लगाएर पनि बैठकमा भाग लिन पाउँछन्। बैठकमा उपस्थित हुँदा सांसदको लोगो लगाउनुपर्ने प्रबन्धसमेत छ।

सभामुख अर्यालले बैठक सञ्चालन भइरहेका बेला सांसदहरू पटकपटक बाहिरिने र भित्रिने क्रमले सदनको मर्यादा तथा कार्यसञ्चालनमा प्रभाव पर्ने भन्दै त्यसलाई नियन्त्रण गर्न पनि प्रमुख सचेतक र सचेतकहरूको ध्यानाकर्षण गराएका छन्।

उनले सांसदलाई व्यक्तिगत वा अन्य इमेलको सट्टा सङ्घीय संसद् सचिवालयले उपलब्ध गराएको सरकारी इमेल प्रयोग गर्न सुझाव दिएका छन्। संसदीय सूचना, औपचारिक पत्राचार र अभिलेख व्यवस्थापनलाई व्यवस्थित तथा सुरक्षित बनाउन सरकारी इमेल प्रयोगमा जोड दिइएको हो।

सभामुख अर्यालले सांसदको बैठक उपस्थितिसम्बन्धी दैनिक विवरण पनि छिट्टै सार्वजनिक गरिने बताएका छन्। दैनिक हाजिरी सार्वजनिक भएपछि कुन सांसद कति दिन बैठकमा उपस्थित भए भन्ने विवरण नागरिकले नियमित रूपमा हेर्न पाउनेछन्।

प्रतिनिधि सभामा बैठकको सुव्यवस्था र मर्यादा कायम गर्ने जिम्मेवारी सभामुखमा रहन्छ। सभामुखको निर्देशन पालना गर्नु र बैठक सञ्चालन भइरहेका बेला अनुशासित व्यवहार गर्नु प्रत्येक सदस्यको संसदीय दायित्व मानिन्छ। प्रतिनिधि सभाको नयाँ नियमावली २०८३ जेठमा पारित भएको थियो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button