कोलम्बियालाई पेनाल्टीमा हराउँदै स्विट्जरल्याण्ड विश्वकप क्वाटरफाइनलमा

ड्रागन मिडिया समाचार कक्ष
कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै स्विट्जरल्याण्ड फिफा विश्वकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ।
क्यानडाको भ्यानकुभरस्थित बीसी प्लेसमा भएको अन्तिम १६ को खेल निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटसम्म गोलरहित बराबरीमा सकिएपछि विजेताको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो।
पेनाल्टीमा स्विट्जरल्याण्डका म्यानुएल अकान्जी गोल गर्न चुके पनि गोलरक्षक ग्रेगोर कोबेलले महत्त्वपूर्ण बचाउ गर्दै टोलीलाई जितको आधार तयार पारे। कोलम्बियाका डेभिन्सन सान्चेजको प्रहार क्रसबारमा लागेर फर्किएको थियो भने कुचो हर्नान्डेजको पेनाल्टी कोबेलले रोकेका थिए।
स्विट्जरल्याण्डका रुबेन भार्गासले निर्णायक पेनाल्टीलाई गोलमा परिणत गर्दै टोलीको ४–३ को जित सुनिश्चित गरे। निर्धारित तथा अतिरिक्त समयमा दुवै टोलीले अवसर सिर्जना गरे पनि गोल गर्न सकेनन्।
कोलम्बियाले खेलको अधिकांश समय स्विट्जरल्याण्डको रक्षापंक्तिमाथि दबाब बनाए पनि गोलरक्षक कोबेल र स्विस रक्षापंक्तिले त्यसलाई सफल हुन दिएनन्। स्विट्जरल्याण्डले पनि काउन्टर आक्रमणमार्फत गोलका अवसर खोजेको थियो, तर दुवै टोलीको अन्तिम प्रहार प्रभावकारी बन्न सकेन।
यो जितसँगै स्विट्जरल्याण्ड ७२ वर्षपछि विश्वकपको क्वाटरफाइनलमा पुगेको छ। उसले यसअघि सन् १९५४ मा घरेलु मैदानमा आयोजित विश्वकपमा अन्तिम आठसम्मको यात्रा गरेको थियो। विश्वकप इतिहासमा स्विट्जरल्याण्ड क्वाटरफाइनल पुगेको यो चौथोपटक हो।
अब स्विट्जरल्याण्डले सेमिफाइनल प्रवेशका लागि साविक विजेता अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ। अर्जेन्टिनाले अन्तिम १६ को रोमाञ्चक खेलमा इजिप्टलाई ३–२ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको थियो। अर्जेन्टिना र स्विट्जरल्याण्डबीचको क्वाटरफाइनल खेल अमेरिकाको कन्सास सिटीमा हुनेछ।





