‘मिसन १६ खर्ब राजस्व’ पूरा गर्न भन्सार र कर प्रशासनलाई अर्थमन्त्रीको निर्देशन
ड्रागन मिडिया समाचार कक्ष
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भन्सार विभाग र आन्तरिक राजस्व विभागका नवनियुक्त महानिर्देशकलाई चालु आर्थिक वर्षको राजस्व संकलन लक्ष्य पूरा गर्न इमानदारी, पारदर्शिता र व्यावसायिक दक्षताका साथ काम गर्न निर्देशन दिएका छन्।
सरकारको राजस्व संकलन गर्ने प्रमुख निकायको नयाँ जिम्मेवारी पाएका भन्सार विभागका महानिर्देशक यमलाल भुसाल, आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भुसाल तथा भन्सार विभागका उपमहानिर्देशक प्रेमप्रसाद आचार्यलाई कार्यक्षेत्रमा खटिनुअघि मंगलबार अर्थ मन्त्रालयमा बोलाएर मन्त्री वाग्लेले निर्देशन दिएका हुन्।
“व्यावसायिक वातावरण र मनोबल उच्च राख्दै राजस्व लक्ष्य भेटिने गरी ‘मिसन १६ खर्ब’का लागि इमानदारीपूर्वक लाग्नुहोस्,” अर्थमन्त्री वाग्लेले भने, “राजस्व चुहावट नियन्त्रण गर्न, स्वैच्छिक कर दाखिला बढाउन र नागरिकलाई कर तिर्न प्रोत्साहित गर्न मन्त्रालयले आवश्यक सबै सहयोग उपलब्ध गराउनेछ।”
उनले भन्सार तथा आन्तरिक राजस्व प्रणालीलाई आधुनिक सूचना प्रविधिसँग जोड्दै सेवा प्रवाहलाई चुस्त, पारदर्शी र प्रभावकारी बनाउन पनि निर्देशन दिए। करदाता र व्यवसायीले अनावश्यक प्रशासनिक झन्झट बेहोर्नु नपर्ने गरी प्रणालीगत सुधार अघि बढाउनुपर्नेमा उनले जोड दिए।
भन्सार र आन्तरिक करबाट हुने आम्दानी वृद्धि गरी मुलुकको आन्तरिक श्रोत बलियो बनाउन सके बाह्य ऋणमाथिको निर्भरता घट्ने अर्थमन्त्री वाग्लेको भनाइ थियो। आन्तरिक आम्दानी बढेपछि मुलुकले आफ्नै आर्थिक क्षमताका आधारमा विकासको गति अघि बढाउन सक्ने उनले बताए।
राजस्व लक्ष्य पूरा गर्ने नाममा व्यावसायिक वातावरण कमजोर बनाउने काम गर्न नहुने उल्लेख गर्दै उनले कर प्रशासनलाई निजी क्षेत्रमैत्री, नियमसंगत र जवाफदेही बनाउन निर्देशन दिए। व्यवसाय सञ्चालन सहज बनाउने र राजस्व प्रणालीमा रहेका चुहावटका क्षेत्र बन्द गर्ने काम सँगसँगै अघि बढाउनुपर्ने उनको भनाइ थियो।
अर्थमन्त्री वाग्लेले मातहतका कार्यालयमा अनियमितता वा गलत काम गर्ने कर्मचारीमाथि कठोर कारबाही गर्न पनि निर्देशन दिए। इमानदारी र व्यावसायिक दक्षताका साथ काम गर्ने कर्मचारीलाई भने पुरस्कार, प्रोत्साहन र संस्थागत संरक्षण सुनिश्चित गरिने सन्देश दिन उनले नवनियुक्त पदाधिकारीलाई आग्रह गरे।
“गलत काम गर्नेप्रति निर्मम बन्नुहोस्। इमानदारीपूर्वक नतिजा दिने कर्मचारीले प्रोत्साहन र सम्मान पाउँछन् भन्ने विश्वास प्रशासनभित्र स्थापित गर्नुपर्छ,” उनले भने।
प्रशासनिक संयन्त्रमा दक्ष र क्षमतावान् भनेर चिनिएका दुई सहसचिवलाई राज्यको राजस्व र प्रतिष्ठासँग प्रत्यक्ष जोडिएका निकायको नेतृत्वमा ल्याइएको उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले आगामी ६ देखि ८ महिनाभित्र कार्यसम्पादनको स्पष्ट परिणाम देखिने विश्वास व्यक्त गरे।
असार १८ गते बसेको मन्त्रीपरिषद बैठकले सहसचिव यमलाल भुसाल, डा. भीष्मकुमार भुसाल र प्रेमप्रसाद आचार्यलाई अर्थ मन्त्रालयमा सरुवा गरेको थियो। असार २२ गते मन्त्रालयमा हाजिर भएका उनीहरूलाई क्रमशः भन्सार विभागको महानिर्देशक, आन्तरिक राजस्व विभागको महानिर्देशक र भन्सार विभागको उपमहानिर्देशकको जिम्मेवारी दिइएको हो।
नयाँ जिम्मेवारी पाएका तीनै जना सहसचिवले अर्थमन्त्रीको निर्देशनअनुसार राजस्व संकलन वृद्धि, चुहावट नियन्त्रण, प्रशासनिक सुधार र करदातामैत्री सेवा प्रवाहमा केन्द्रित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।





