२४ असार २०८३, बुधबार

बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि सम्पूर्ण शक्ति परिचालन गर्न सी चिनफिङको निर्देशन

ड्रागन मिडिया समाचार कक्ष

चिनियाँ राष्ट्रपति सी चिनफिङले देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो र प्रतिकूल मौसमका कारण भएको जनधनको क्षतिपछि आपत्कालीन उद्धार, घाइतेको उपचार, प्रभावित नागरिकको पुनर्स्थापना र विपद राहतमा सम्पूर्ण शक्ति परिचालन गर्न निर्देशन दिएका छन्।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्षसमेत रहेका सीले मानवीय क्षति न्यून गर्न र बाढीपछि उत्पन्न हुन सक्ने दोस्रो चरणका विपद रोक्न स्थानीय प्रशासन तथा सम्बन्धित निकायलाई प्रभावकारी रूपमा परिचालित हुन आग्रह गरेका हुन्।

हालैको भारी वर्षा र आँधीबेहरीका कारण क्वाङ्सी झुआङ स्वायत्त क्षेत्र तथा हुपेई र कान्सु प्रान्तमा जलाशय फुट्ने, बाढी आउने र पहिरो जानेसहितका घटना भएका छन्। ती घटनाबाट मानवीय तथा आर्थिक क्षति भएपछि राष्ट्रपति सीले बाढी नियन्त्रणका सबै उपाय कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएका छन्।

उनले नदी, ताल, जीर्ण जलाशय र भूगर्भीय विपदको उच्च जोखिम रहेका क्षेत्रमा व्यापक निरीक्षण गरी सम्भावित जोखिम पहिचान र नियन्त्रण गर्नुपर्ने बताए। मौसम तथा जलप्रवाहको निरन्तर निगरानी, समयमै पूर्वसूचना, आपत्कालीन तयारी र छिटो प्रतिक्रिया दिन सक्ने संयन्त्र सुदृढ बनाउन पनि उनले जोड दिएका छन्।

सीले जनताको जीवन र सम्पत्तिको सुरक्षा सर्वोच्च प्राथमिकतामा राख्दै उद्धार, राहत, घाइतेको उपचार र प्रभावित परिवारको सुरक्षित स्थानान्तरणलाई व्यवस्थित बनाउन निर्देशन दिएका छन्। प्रभावित क्षेत्रमा राहत सामग्री, स्वास्थ्य सेवा, यातायात, सञ्चार र आधारभूत सेवाको आपूर्ति सुनिश्चित गर्न सम्बन्धित निकायहरू परिचालित भएका छन्।

दक्षिण चीनको क्वाङ्सी झुआङ स्वायत्त क्षेत्रमा मुसलधारे वर्षापछि आएको बाढीमा मंगलबार साँझसम्म छ जनाको मृत्यु भएको र ११ जना बेपत्ता रहेको स्थानीय अधिकारीहरूले जनाएका छन्। आँधी ‘मेसाक’का कारण भएको वर्षाले करिब तीन लाख ७५ हजार मानिस प्रभावित भएका छन् भने एक लाख ३० हजार नागरिकलाई जोखिमयुक्त क्षेत्रबाट सुरक्षित स्थानमा सारिएको छ।

क्वाङ्सीमा खोज तथा उद्धार र जोखिम नियन्त्रणका लागि आठ हजारभन्दा बढी उद्धारकर्मी, एक हजार सात सयभन्दा बढी सवारीसाधन र पाँच हजार सात सय डुङ्गा परिचालन गरिएको छ। त्यहाँका ३४१ जलाशयमा पानीको सतह बाढी नियन्त्रण सीमाभन्दा माथि पुगेको तथा ४१ नदीका ५६ अनुगमन केन्द्रमा पानीको सतह चेतावनी तह नाघेको जनाइएको छ।

मध्य चीनको हुपेई प्रान्तमा चट्याङ, आँधीबेहरी र तीव्र हावाहुरीका कारण ११ जनाको मृत्यु भएको र एक जना बेपत्ता भएका छन्। ह्वाङ्शी, ह्वाङकाङ, एझोउ र स्याननिङ क्षेत्रमा प्रतिकूल मौसमले २२ भवन पूर्ण रूपमा भत्काएको तथा चार हजार ८५५ भवनमा क्षति पुर्‍याएको छ। घटनामा ३३१ जना घाइते भएको प्रान्तीय अधिकारीहरूले बताएका छन्।

उत्तरपश्चिमी कान्सु प्रान्तको लोङनान शहरअन्तर्गत तानछाङ काउन्टीमा मंगलबार बिहान गएको पहिरोमा पाँच जनाको मृत्यु भएको र १२ जना बेपत्ता भएका छन्। नान्हे टाउनशिपको रेन्चाङ गाउँमा गएको पहिरोले ३३ जनालाई पुरेकोमा २१ जनाको उद्धार गरिएको थियो।

उद्धार कार्यका लागि आपत्कालीन व्यवस्थापन, अग्नि नियन्त्रण, स्वास्थ्य, सार्वजनिक सुरक्षा, यातायात, विद्युत् र दूरसञ्चार क्षेत्रका टोली परिचालन गरिएको छ। कान्सुमा ३४५ उद्धारकर्मी र १० वटा खोजी कुकुर परिचालन गरिएको तथा गम्भीर घाइतेको उपचारका लागि विशेष स्वास्थ्य टोली पठाइएको छ।

चीनको केन्द्रीय सरकारले कान्सुको पहिरो प्रभावित क्षेत्रमा उद्धार, पुनर्निर्माण तथा सार्वजनिक पूर्वाधार पुनर्स्थापनाका लागि तीन करोड युआन उपलब्ध गराएको छ। राष्ट्रिय विपद रोकथाम, न्यूनीकरण तथा राहत आयोगले घटनापछि चौथो तहको आपत्कालीन प्रतिक्रिया सक्रिय गरेको छ।

चिनियाँ प्रधानमन्त्री ली छ्याङले पनि स्थानीय क्षेत्रमा वर्षा र बाढीको अवस्थामाथि नजिकबाट निगरानी गर्न, जोखिम पहिचान तथा पूर्वसूचना प्रणाली सुदृढ बनाउन र उद्धार तथा राहतमा सम्पूर्ण प्रयास केन्द्रित गर्न निर्देशन दिएका छन्।

चिनियाँ अधिकारीहरूले प्रभावित क्षेत्रमा खोज तथा उद्धार, नागरिकको सुरक्षित स्थानान्तरण, उपचार, राहत वितरण र क्षतिग्रस्त पूर्वाधार पुनर्स्थापनाको काम जारी रहेको बताएका छन्। केही क्षेत्रमा थप भारी वर्षाको पूर्वानुमान रहेकाले नदी, जलाशय, पहाडी क्षेत्र र कमजोर भौगर्भिक संरचना भएका स्थानमा निगरानी बढाइएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button