जलजलामा १४९ सुत्केरीलाई घ्यू र अण्डा वितरण

ड्रागन मिडिया समाचार कक्ष
पर्वतको जलजला गाउँपालिकाले संस्थागत प्रसूति सेवा लिएका १४९ जना सुत्केरीलाई पोषण सहयोगस्वरूप घ्यू र अण्डा वितरण गरेको छ।
गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ मा ‘उपाध्यक्ष सुत्केरी पोषण कार्यक्रम’ अन्तर्गत नौवटै वडाका सुत्केरीलाई दुई क्यारेट अण्डा र एक माना घ्यू उपलब्ध गराएको हो। मल्लाज, लेकफाँट र शालिजामा रहेका प्रसूति सेवा केन्द्रमार्फत सुत्केरी भएका महिलालाई कार्यक्रममा समेटिएको गाउँपालिकाले जनाएको छ।
घरमै सुत्केरी गराउने परम्परा अन्त्य गर्दै गर्भवती महिलालाई स्वास्थ्य संस्थामा सुरक्षित प्रसूति सेवा लिन प्रोत्साहित गर्ने तथा आमा र नवजात शिशुको पोषण सुधारसम्बन्धी सन्देश प्रवाह गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो।
गाउँपालिका उपाध्यक्ष दीपक आचार्यका अनुसार २०८२ साउनदेखि असारको तेस्रो सातासम्म स्वास्थ्य संस्थामा सुत्केरी भएका महिलालाई पोषण सामग्री प्रदान गरिएको छ।
“स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई दुई क्यारेट अण्डा र एक माना घ्यू उपलब्ध गराइएको हो,” उनले भने, “वितरण गरिएका अण्डा र घ्यू गाउँपालिकाभित्रकै किसानबाट खरिद गरिएको छ।”
स्थानीय किसानले उत्पादन गरेका सामग्री खरिद गरेर वितरण गरिएकाले कार्यक्रमले सुत्केरीको पोषणसँगै स्थानीय कृषि उत्पादनको खपत र किसानको आयआर्जनमा पनि सहयोग पुर्याएको गाउँपालिकाको भनाइ छ।
महिला तथा बालबालिका शाखा प्रमुख विन्दु शर्माले जनप्रतिनिधि र स्वास्थ्यकर्मीले सम्बन्धित बस्तीमै पुगेर घ्यू र अण्डा वितरण गर्ने गरेको बताइन्। त्यस क्रममा आमा र शिशुको स्वास्थ्य अवस्था बुझ्नुका साथै उपलब्ध स्थानीय खाद्यवस्तुबाट पौष्टिक आहार तयार गर्ने विषयमा परामर्शसमेत दिइने गरिएको छ।
कार्यक्रमले सुत्केरी अवस्थामात्र नभई गर्भावस्थादेखि बच्चा दुई वर्षको हुँदासम्म आमा र शिशुको पोषणमा विशेष ध्यान दिनुपर्ने सन्देश समुदायमा पुर्याउने लक्ष्य राखेको छ। यसका लागि गाउँपालिकाले लक्षित वर्गसम्बन्धी बजेटबाट रकम व्यवस्थापन गरेको हो।
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गणेश मल्लका अनुसार आर्थिक वर्ष २०८१/८२ मा जलजलामा घरमै सुत्केरी हुनेको सङ्ख्या शून्य कायम भएको थियो। पालिकाको मल्लाज, लेकफाँट र शालिजामा प्रसूति सेवा उपलब्ध छ।
गर्भवती तथा सुत्केरी महिलालाई स्वास्थ्य संस्थासम्म सहज पहुँच पुर्याउन गाउँपालिकाले २०८१ साउनदेखि निःशुल्क एम्बुलेन्स सेवासमेत सञ्चालन गर्दै आएको छ। यो सुविधा गर्भवती र सुत्केरीसँगै ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गरिब तथा असहाय नागरिकका लागि उपलब्ध गराइएको छ।
गाउँपालिकाका अनुसार आर्थिक वर्ष २०८१/८२ मा एम्बुलेन्स सेवा प्रयोग गरेका ६३१ जनामध्ये ३२७ जनाले लक्षित वर्गअन्तर्गत निःशुल्क सेवा पाएका थिए। तीमध्ये ७० जना गर्भवती तथा सुत्केरी महिला थिए।
गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले पोषण सहयोग, संस्थागत प्रसूति सेवा र निःशुल्क एम्बुलेन्सलाई एकअर्कासँग जोडेर मातृ तथा शिशु स्वास्थ्य सुधार गर्ने प्रयास गरिएको बताए। उनले आर्थिक अवस्था वा यातायातको अभावका कारण कुनै पनि गर्भवती महिला सुरक्षित प्रसूति सेवाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख गरे।





