लोमान्थाङमा ७५ लाख लागतको मोटरेबल पुल सञ्चालनमा

ड्रागन मिडिया समाचार कक्ष
उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित छोर्तेन छोमा खोलामा निर्माण गरिएको मोटरेबल पुल सञ्चालनमा आएको छ।
करिब ७५ लाख ४५ हजार रुपैयाँ लागतमा निर्माण गरिएको ८.५ मिटर लामो पुलले लोमान्थाङ गाउँपालिका–१ र २ लाई जोडेको छ। पुल सञ्चालनमा आएपछि स्थानीयवासीको आवागमन सहज हुनुका साथै निफुक गुम्बा, झोङ गुफा र गर्फु गुम्बासम्म पुग्न पनि सजिलो भएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत न्युटन लम्सालले पुल सञ्चालनमा आएपछि स्थानीयवासीलाई प्रत्यक्ष सुविधा पुगेको बताए। उनका अनुसार कोरला नाका अवलोकन गर्न आउने पर्यटकका लागि पनि पुल उपयोगी हुने भएको छ।
नवनिर्मित पुलको उद्घाटन लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले बुधबार गरेका हुन्। पुल सञ्चालनसँगै उपल्लो मुस्ताङका धार्मिक, सांस्कृतिक र पर्यटकीय गन्तव्यमा पहुँच थप सहज हुने अपेक्षा गरिएको छ।





