मौद्रिक नीतिले लगानीमुखी सुधारलाई बल दिने निक्कीको विश्वास

ड्रागन मिडिया समाचार कक्ष
नेपाल–भारत उद्योग वाणिज्य महासंघ निक्कीले नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिको स्वागत गरेको छ।
निक्कीले उच्च आर्थिक वृद्धि र समष्टिगत आर्थिक स्थायित्व कायम राख्ने उद्देश्यसहित आएको मौद्रिक नीतिले लगानी, उत्पादन र निजी क्षेत्रको विश्वास बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको हो। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति साउन ७ गते सार्वजनिक गरेको थियो।
महासंघका अनुसार विश्वव्यापी आर्थिक अनिश्चितताका बीच नेपालको बाह्य क्षेत्र, बैंकिङ प्रणालीको तरलता, विदेशी विनिमय सञ्चिति तथा लगानीकर्ताको विश्वासमा सुधार देखिनु आगामी आर्थिक वर्षका लागि सकारात्मक आधार हो। निक्कीले मौद्रिक नीतिले मुद्रास्फीति करिब ५.५ प्रतिशतमा सीमित राख्ने र ७ प्रतिशत आर्थिक वृद्धिलाई सहयोग गर्ने लक्ष्य लिएको जनाएको छ।
नीतिगत दर यथावत् राख्ने, बैंकिङ प्रणालीमा पर्याप्त तरलता कायम गर्ने र भारतीय रुपैयाँसँगको विनिमय दरको स्थायित्व कायम राख्ने निर्णयले व्यवसाय र लगानीका लागि विश्वासयोग्य वातावरण निर्माणमा सहयोग गर्ने महासंघको भनाइ छ।
निक्कीले वित्तीय क्षेत्र सुधार, बैंकिङ नियमको सरलीकरण, डिजिटल बैंकिङ विस्तार, कर्जा मूल्याङ्कन प्रणाली, कर्जा असुली व्यवस्था र विदेशी विनिमय व्यवस्थापनलाई थप प्रभावकारी बनाउने व्यवस्थाको पनि स्वागत गरेको छ।
यद्यपि महासंघले बैंकिङ प्रणालीमा पर्याप्त तरलता र न्यून ब्याजदर हुँदाहुँदै पनि निजी क्षेत्रतर्फ कर्जा विस्तार अपेक्षाअनुसार हुन नसकेको जनाएको छ। यसले लगानीको मुख्य चुनौती वित्तीय श्रोतको अभाव नभई लगानीकर्ताको विश्वास, नीतिगत स्थिरता, नियामकीय जटिलता र आर्थिक सुधारको प्रभावकारी कार्यान्वयन रहेको देखाउने निक्कीको विश्लेषण छ।
महासंघले दिगो आर्थिक वृद्धिका लागि मौद्रिक नीतिसँगै वित्तीय अनुशासन, विकास खर्चको समयमै कार्यान्वयन, व्यवसायमैत्री वातावरण र संरचनात्मक सुधार आवश्यक रहेकोमा जोड दिएको छ। निक्कीले उत्पादनमूलक उद्योग, जलविद्युत, पर्यटन, कृषि, सूचना प्रविधि र निर्यातमुखी उद्योगमा लगानी विस्तार गर्न सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।
महासंघले स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्न लगानी स्वीकृति प्रक्रिया सरल बनाउन, उपलब्ध तरलतालाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्न, निर्यात प्रवर्द्धन गर्न तथा पूर्वाधार र सीमापार व्यापार सहजीकरणलाई प्राथमिकता दिन आग्रह गरेको छ।
निजी लगानी, विप्रेषण, विदेशी विनिमय सञ्चिति र वैदेशिक लगानीमा देखिएको सुधारलाई सकारात्मक संकेतका रूपमा लिँदै निक्कीले नेपालले उपभोगमुखी अर्थतन्त्रबाट लगानी र उत्पादनमुखी अर्थतन्त्रतर्फ अघि बढ्ने अवसर पाएको जनाएको छ।
नेपाल र भारतबीचको घनिष्ठ आर्थिक सम्बन्धले उत्पादन, ऊर्जा, पर्यटन, व्यापार र लगानीका क्षेत्रमा ठूलो सम्भावना बोकेको महासंघको भनाइ छ। स्थिर नीति, सुधारमुखी कार्यान्वयन र निजी क्षेत्रसँगको सहकार्यबाट दुई देशबीचको आर्थिक साझेदारी अझ सुदृढ हुने विश्वास निक्कीले व्यक्त गरेको छ।
महासंघले नेपाल राष्ट्र बैंक, नेपाल सरकार, भारतीय लगानीकर्ता र निजी क्षेत्रसँग सहकार्य गर्दै लगानी, औद्योगिक विकास, व्यापार सहजीकरण र नीतिगत सुधारमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयन, विकास खर्चको समयमै परिचालन र सम्बन्धित निकायबीच समन्वय हुन सके नेपालले उच्च, दिगो र लगानीमुखी आर्थिक वृद्धि हासिल गर्न सक्ने निक्कीको विश्वास छ।





