भेरी–बबईको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न प्रसारण लाइन बन्ने

ड्रागन मिडिया समाचार कक्ष
राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाबाट उत्पादन हुने विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न १३२ केभी क्षमताको प्रसारण लाइन निर्माण गरिने भएको छ।
आयोजनाबाट उत्पादन हुने विद्युत नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनमा जोडिनेछ। त्यसका लागि एक दशमलव सात किलोमिटर लामो प्रसारण लाइन निर्माण गर्ने तयारी गरिएको हो।
भेरी नदीको पानी सुरुङमार्फत बबई नदीमा खसालेर बाँके र बर्दियाको करिब ५१ हजार हेक्टर जमिनमा बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध गराउने आयोजनाको लक्ष्य छ। सोही पानीबाट करिब ४६ दशमलव आठ मेगावाट विद्युत उत्पादन गर्ने योजना पनि छ।
प्रस्तावित प्रसारण लाइनमा नौवटा टावर रहनेछन्। तीमध्ये तीनवटा टावर बर्दिया राष्ट्रिय निकुञ्जको मुख्य क्षेत्रमा र बाँकी छवटा टावर निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्नेछन्। प्रसारण लाइनको क्षेत्राधिकार १८ मिटर रहने जनाइएको छ।
प्रसारण लाइन निर्माणका कारण सुर्खेतको भेरीगंगा नगरपालिका–५ र बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्र प्रभावित हुनेछन्। आयोजनाले वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार पार्ने प्रक्रिया अघि बढाएको छ। त्यसका लागि सम्बन्धित सरोकारवाला तथा स्थानीयवासीसँग आवश्यक राय–सुझाव मागिएको छ।
आयोजनाको सुरुङ निर्माण कार्य यसअघि नै सम्पन्न भइसकेको छ। हाल सिभिल निर्माण, हाइड्रो मेकानिकल र इलेक्ट्रो मेकानिकलसम्बन्धी काम भइरहेको आयोजनाले जनाएको छ।
आयोजनाका सूचना अधिकारी हरिबहादुर थापाका अनुसार हालसम्म आयोजनाको भौतिक प्रगति ७० प्रतिशत र वित्तीय प्रगति ५७ प्रतिशत पुगेको छ। बाँकी काम सम्पन्न गर्न अझै करिब तीन वर्ष लाग्ने अनुमान गरिएको छ।
अपेक्षित गतिमा काम अघि नबढेपछि ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले केही दिनअघि आयोजनास्थलको निरीक्षण गरेका थिए। निरीक्षणका क्रममा उनले निर्माण प्रक्रियालाई तीव्रता दिन निर्देशन दिएका थिए।
भेरी–बबई आयोजना सम्पन्न भएपछि सिँचाइ, विद्युत उत्पादन र क्षेत्रीय आर्थिक गतिविधिमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। आयोजनाले कर्णाली र लुम्बिनी प्रदेशका कृषि, ऊर्जा र पूर्वाधार विकासमा दीर्घकालीन प्रभाव पार्ने विश्वास गरिएको छ।





