२५ असार २०८३, बिहीबार

तनहुँ जलविद्युत आयोजनाका लागि ६ अर्बभन्दा बढी बजेट विनियोजन

ड्रागन मिडिया समाचार कक्ष

तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाका लागि सरकारले ६ अर्ब रुपैयाँभन्दा बढी बजेट विनियोजन गरेको छ।

ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयले आगामी आर्थिक वर्षका लागि उक्त बजेट उपलब्ध गराएको हो। तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माण भइरहेको आयोजनाको काम तीनवटा प्याकेजमा अघि बढिरहेको छ।

आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार आयोजनाको हालसम्मको समग्र भौतिक प्रगति ७५ दशमलव पाँच प्रतिशत पुगेको छ। आयोजनाको प्याकेज १ अन्तर्गत बाँधलगायत हेडवर्क्स संरचना, प्याकेज २ अन्तर्गत मुख्य सुरुङ, विद्युतगृह तथा सम्बन्धित उपकरण र प्याकेज ३ अन्तर्गत दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माण भइरहेको छ।

बाँधलगायत संरचनाको भौतिक प्रगति ५९ प्रतिशत पुगेको आयोजनाले जनाएको छ। मुख्य बाँध निर्माणका लागि डाँडा कटान, पहुँच सडक, सेती नदीको धार फर्काउन आवश्यक अस्थायी बाँध तथा दुईवटा डाइभर्सन सुरुङलगायत संरचना निर्माण भइसकेका छन्।

विद्युतगृह, केबल सुरुङ, सर्ज ट्याङ्क र टेलरेसलगायत संरचनाको मुख्य कङ्क्रिटिङ कार्य पनि सम्पन्न भएको छ। यी संरचनाको भौतिक प्रगति ७७ प्रतिशत पुगेको छ।

भण्डारीका अनुसार जलाशयको पानी विद्युतगृहसम्म पुर्‍याउन प्रयोग हुने मुख्य सुरुङको कङ्क्रिट लाइनिङ कार्य जारी छ। प्रसारण लाइनतर्फ ९४ वटा टावरमध्ये ७८ वटा टावरको जग निर्माण सम्पन्न भएको छ।

आयोजना सम्पन्न भएपछि तनहुँ जलविद्युत आयोजनाले राष्ट्रिय प्रसारण प्रणालीमा १४० मेगावाट विद्युत थप गर्नेछ। यसले आन्तरिक ऊर्जा आपूर्ति सुदृढ गर्न, जलाशययुक्त आयोजनाको हिस्सा बढाउन र देशको दीर्घकालीन ऊर्जा सुरक्षामा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button