नेपाल–चीन आर्थिक सहकार्य: नयाँ युगको सुरुवात

ड्रागन मिडिया समाचार कक्ष
नेपाल सरकारले छिमेकी मुलुक चीनसँगको आर्थिक तथा व्यापारिक सम्बन्धलाई थप प्रभावकारी, परिणाममुखी र दिगो बनाउने प्रतिबद्धता पुनः व्यक्त गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले चीनको वाणिज्य मन्त्रालयका उपमन्त्री यान तोङको नेतृत्वमा नेपाल भ्रमणमा रहेको उच्चस्तरीय प्रतिनिधिमण्डलसँग आज सिंहदरबारमा भएको शिष्टाचार भेटवार्तामा यो प्रतिबद्धता व्यक्त गर्नुभएको हो।
भेटवार्ताको क्रममा मन्त्री यादवले नेपाल–चीनबीच व्यापार, लगानी, औद्योगिक विकास, पूर्वाधार निर्माण, व्यापार सहजीकरण, सीमापार पूर्वाधार विकास, निजी क्षेत्रबिचको सहकार्य तथा आपूर्ति शृङ्खला सुदृढीकरणका क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। नेपालमा सिर्जना गरिएको लगानीमैत्री वातावरण, कानुनी तथा नीतिगत सुधार र औद्योगिक विकासका सम्भावनाबारे चिनियाँ पक्षलाई जानकारी गराउँदै उहाँले उत्पादनमूलक क्षेत्रमा चिनियाँ लगानी थप अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभयो।
चिनियाँ वाणिज्य उपमन्त्री यान तोङले नेपाल–चीन द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन चीन सरकार सदैव प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले दुवै देशका सरकारीस्तरका द्विपक्षीय संयन्त्रमार्फत नियमित संवाद र बैठकहरू सञ्चालन गर्दै सहकार्यलाई थप प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो। उपमन्त्री यानले तातोपानी र रसुवा नाकाको व्यापारिक पूर्वाधार निर्माण तथा पुनर्निर्माणमा सहयोग गर्न चीन सकारात्मक रहेको जानकारी दिँदै नेपाललाई चीनमा आयोजना हुने व्यापार मेला तथा एक्स्पोमा सहभागी गराउन आवश्यक सहजीकरण गरिने बताउनुभयो।
उपमन्त्री यानले नेपालको वैदेशिक प्रत्यक्ष लगानीको प्रमुख स्रोत मुलुकमध्ये चीन अग्रणी रहेको उल्लेख गर्दै चिया, जडीबुटी तथा अन्य सम्भावित निर्यातयोग्य नेपाली उत्पादनको सम्भावनाबारे संयुक्त अध्ययन गर्न सकिने धारणा राख्नुभयो। सन् १९७८ पछि चीनले अवलम्बन गरेको खुला आर्थिक नीति, वैदेशिक लगानी प्रवर्धनका लागि अपनाइएका कर सहुलियत, व्यावसायिक वातावरण सुधार तथा प्रशासनिक सहजीकरणबाट प्राप्त अनुभव नेपालका लागि पनि उपयोगी हुन सक्ने बताउँदै व्यापार तथा आर्थिक सुधारका लागि एकीकृत अवधारणा अवलम्बन गर्न उहाँले सुझाव दिनुभयो।
उपमन्त्री यानले एकद्वार सेवा प्रणालीमार्फत थप सहज, पारदर्शी र लगानीमैत्री वातावरण सुनिश्चित गर्न सके नेपालमा चिनियाँ लगानी अझ वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो। नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र चीनको वाणिज्य मन्त्रालयको साझा उद्देश्य व्यापार तथा लगानी प्रवर्धन रहेको उल्लेख गर्दै आगामी दिनमा थप समन्वय र सहकार्य आवश्यक रहेको उहाँको भनाइ छ। भेटवार्तामा नेपाल र जनवादी गणतन्त्र चीनबीचको घनिष्ठ मित्रता, आर्थिक साझेदारी तथा जनस्तरको सम्बन्धलाई थप विस्तार गर्दै आपसी हितका क्षेत्रमा सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ।





